२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम

तीव्र गतिका बलर जाहानदाद खान र करण केसीको सनसनीपूर्ण बलिङ प्रेरणामा काठमान्डु गोर्खाजले तेस्रो जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरमा शनिबार पाकिस्तानी बलर जाहानदाद र करण चम्किँएपछि काठमान्डुले लुम्बिनीमाथि ३६ रनको जित रच्यो । यससँगै शीर्ष स्थानको लुम्बिनीको अपराजित यात्रा पाँचौं खेलबाट पूर्णविराम लाग्यो । त्रिवि क्रिकेट स्टेडियममा काठमान्डुले १६१ रनको लक्ष्य दियो । तर, लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । मध्य क्रमका ब्याटर सन्दीप जोराले ४४ रन बनाए । यसबाहेक ब्याटर लामो समय टिक्न सकेनन् । ४.३ ओभरमा २८/६ को धरासयी स्थितिबाट सन्दीपले लुम्बिनीको इनिङ समाले । तर, जित दिलाउन सफल भएनन् । १८औं ओभरमा आउट हुनुअघि उनले ४५ बलमा तीन चौका हिर्काए । करण र जाहानदादले संयुक्त ६ विकेट लिँदै जितको आधार बनाए ।

पाँचौं ओभरभित्र नै यी दुईले शीर्ष क्रमका ६ ब्याटर सस्तैमा आउट गर्दै लुम्बिनीलाई नाजुक स्थितिमा पुर्‍याए । ४.३ ओभरमा लुम्बिनी २८/६ को धरासयी स्थितिमा थियो । तथापि सातौं विकेटका लागि सन्दीप र रुबेल ट्रम्पलमेनले इनिङ समाल्ने प्रयास गरे । तर ट्रम्पलमेन ११ रनमा आउट हुन पुगे । उनलाई युवा स्पिनर सन्तोष यादवले बोल्ड गरे । यसअघि जोरा र ट्रम्पमेनबीच २१ रनको साझेदारी बन्यो । ९.१ ओभरमा लुम्बिनी ४९/७ को अवस्थामा थियो । तर एक छेउबाट जोराले इनिङ समाले । उनले आठौं विकेटका लागि अभिशेष गौतमसँग ४६ र नवौं विकेटका लागि शेर मल्लसँग १९ रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । तर त्यो साझेदारी जितका लागि पर्याप्त भएन ।

ओपनरद्वय डार्सी सट र आसिफ शेखसँगै कप्तान रोहित पौडेल र विकेटकिपर निरोसन डिकवेला जस्ता महŒवपूर्ण ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट हुँदा लुम्बिनी पराजित हुन पुग्यो । काठमान्डुको बलिङमा जाहानदादले चार र करणले दुई विकेट लिए । साहब आलम, सन्तोष, साहान आराचिगे र रासिद खानले समान एक विकेट लिँदै लुम्बिनीको इनिङलाई रोके । पहिलो विकेटको लागि सतकीय साझेदारी भए पनि काठमान्डुले विशाल योगफल बनाउन सकेन । पूरै ओभर खेल्दै काठमान्डुले सात विकेटको १६० रनको मध्यम योगफल बनायो । ओपनद्वय वार्नरले ६६ रन र साहिल पटेलले ३८ रन जोडे ।

वार्नरले ५० बलमा ९ चौका र एक छक्का हिर्काए । ३६ बल खेल्दै साहिलले समान दुई चौका र छक्का प्रहार गरे । यी दुई चम्कँदा एक समय काठमान्डु दुई सय रनको आसपास पुग्ने अनुमान थियो । १४औं ओभरमा पाटेल र १६औं ओभरमा वार्नर आउट हुन पुगे । यसपछि काठमान्डुको इनिङ धरासयी हुन थाल्यो । काठमान्डुले १२औं ओभरमै १०० रनको आँकडा पार गरिसकेको थियो । तथापि लुम्बिनीका बलरले उत्कृष्ट पुनरागमन गर्‍यो । लुम्बिनीका स्पिनरले १३औं ओभरदेखि किफायती बलिङ गर्दै दबाबमा राखे । वार्नर र साहिल पभेलियन फर्किएपछि काठमान्डुको लगातार विकेट पतन भयो । अन्तिम आठ ओभरमा काठमान्डुले ६० रन जोड्दा आठ विकेट गुमाउन पुग्यो । यससँगै काठमान्डुको विशाल योगफल बनाउने लक्ष्य पूरा भएन ।

लुम्बिनीले १७ ओभरसम्म कसिलो बलिङ गर्‍यो । यससँगै काठमान्डु ११९/४ को अवस्थामा थियो । तर अन्तिम तीन ओभरमा काठमान्डुले ४१ रन जोडेपछि राम्रो लक्ष्य दिन सफल भयो । यस क्रममा सेहान आराचिगेले १५ बलमा ३४ रनको आक्रामक इनिङ खेले । उनको इनिङमा तीन चौका र एक छक्का रह्यो । उनको इनिङले काठमान्डुले प्रतिस्पर्धात्मक लक्ष्य दियो । लुम्बिनीका बलरले लयमा फर्किदै ठूलो योगफल बनाउनबाट रोके । तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनसँगै स्पिनरद्व शेर मल्ल र अभिशेष गौतमले समान दुई विकेट लिए । आइतबार विश्रामको दिन रहेको छ ।

प्रकाशित: २१ कार्तिक २०८३ २०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App