कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र रुबेन ट्रम्पलम्यानको घातक बलिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ५० बल बाँकी छँदै मात्र ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
यस सानदार जितसँगै लुम्बिनी लायन्स ३ खेलबाट २ जित र १ बराबरीसहित ५ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लुम्बिनीको नेट रनरेट पनि उत्कृष्ट बनेको छ। अर्कोतर्फ लगातार तीन खेलमा पराजय भोगेको कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स अंकविहीन रहँदै तालिकाको पुछारमा खुम्चिएको छ।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले २१ रन जोड्दा आफ्ना दुवै ओपनर गुमाएको थियो। ओपनर आसिफ शेख ७ रनमा रनआउट भए भने विष्फोटक ब्याटर डार्सी सर्ट १३ रन बनाएर विपिन खत्रीको बलमा क्याच आउट भए।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले आक्रामक साझेदारी गर्दै टोलीलाई सहजै जिततर्फ डोर्याए।
यी दुईबीच तेस्रो विकेटका लागि ७७ रनको अविजित साझेदारी भयो। रोहितले मात्र ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४७ रनको कप्तानी इनिङ्स खेले।
उनलाई उत्कृष्ट साथ दिएका डिक्वेलाले २६ बलमा २ चौका र १ छक्कासहित अविजित २७ रन जोडे। पोखराका लागि विपिन खत्रीले १ विकेट लिनुबाहेक अन्य बलर प्रभावहीन रहे।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९७ रन बनाउन सकेको थियो।
विदेशी तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले इनिङ्सको पहिलो ओभरमै ओपनर अर्जुन कुमाललाई शून्य रनमा बोल्ड गरेपछि पोखराले सुरुवातमै दबाब झेल्नुपरेको थियो।
पोखराका भरपर्दा विदेशी ब्याटर सदिरा समराविक्रमा ७, विपिन आचार्य १ र अनुभवी अलराउन्डर शाकिब अल हसन मात्र ३ रन बनाएर पभेलियन फर्केका छन्। कप्तान कुशल भुर्तेलले २० बलमा १४ र मेहदी हसनले १३ रन जोडे।
८.३ ओभरमा ३१ रन जोड्दा ५ विकेट गुमाइसकेको पोखराका लागि पुछारका ब्याटर चामिका करुणारत्नेले सर्वाधिक २५ रनको इनिङ्स खेले। उनले १७ बलमा २ छक्का प्रहार गरे। यस्तै किरण ठगुन्नाले ६ बलमा १२ रन जोड्दा पोखराको स्कोर जेनतेन ९० पार भएको थियो।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने स्पिनर तिलक भण्डारीले ४ ओभरमा २२ रन दिएर २ विकेट हात पारे। कप्तान रोहित पौडेल, १ मेडनसहित १५ रन खर्चेका अभिषेश गौतम र शेर मल्लले समान १-१ विकेट लिए।
प्रकाशित: १७ कार्तिक २०८३ १९:५९ मंगलबार





