९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन: विनोद र पूर्णलक्ष्मी च्याम्पियन

त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने लुम्बिनी भएको चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन्।

लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिबार सम्पन्न पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथन (२१ किलोमिटर) मा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको म्याराथनमा विनोदले दुई घन्टा १७ मिनेट ५५ सेकेन्ड समय लगाए। हाफ म्याराथनमा पूर्णलक्ष्मीले एक घन्टा १७ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितिन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णविजेता सन्तोषी श्रेष्ठलाई हराउँदै पूर्णलक्ष्मी च्याम्पियन भएकी हुन्।

सन्तोषीले काँध र पिँडुलामा समस्या भएपछि आफ्नो स्वभाविक गतिमा दौडन नसकेको बताइन्। ‘वर्षा हुँदा स्वभाविक लयमा दौडिन सकिनँ । काँध र पिडुँला पनि समस्या भयो,’सन्तोषीले भनिन्,‘ पूर्णलक्ष्मीले पनि राम्रो खेलिन्।’

म्याराथनमा आर्मीकै खेलाडीले वर्चस्व जमाए। आर्मीका सुशीलकुमार शाही र नरेन्द्रसिंह राउत क्रमशः दोस्रो र तेस्रो भए। सुशीलकुमारले दुई घन्टा १८ मिनेट १६ सेकेन्ड र नरेन्द्रसिंहले दुई घन्टा १९ मिनेट ५८ सेकेन्ड समय लगाए। चिनका वाङ ची दुई घन्टा २१ मिनेट पाँच सेकेन्डका साथ चौथो, केन्याका जुलियस वाकोमे दुई घन्टा २३ मिनेटका साथ पाँचौं र दलबहादुर कुुँवर दुई घन्टा २४ मिनेट ७ सेकेन्डका साथ छैटौं भए।

केन्याकै इशाह एनडन्गु दुई घन्टा २५ मिनेट ४२ सेकेन्डका साथ सातौं, कूलबहादुर बस्नेत दुई घन्टा २८ मिनेट १७ सेकेन्डका साथ आठौं, अनुभवी धावक हरि रिमाल दुई घन्टा २९ मिनेट २० सकेन्डका साथ नवौं र कर्णबहादुर रोकामगर दुई घन्टा ३४ मिनेट २० सेकेन्डका साथ दशौं स्थानमा रहे।

हाफ म्याराथन महिलामा सन्तोषी श्रेष्ठ एक घन्टा १८ मिनेट ४० सेकेन्डसहित दोस्रो स्थानमा नै सीमित भइन्। उनी यसअघि दोस्रो र तेस्रो संस्करणको च्याम्पियन हुन्। निशा शर्की एक घन्टा १९ मिनेट १९ सेकेन्डका साथ तेस्रो भइन्। महिलातर्फ सुनसरी रोकाया एक घन्टा २१ मिनेट ४६ सेकेन्ड सहित चौथो, चीनकी रुवान शेइङ एक घण्टा २२ मिनेट ३८ सेकेन्डसहित पाँचौं तथा कल्पना बुढा एक घन्टा २५ मिनेट ७ सेकेन्डसहित छैटौं स्थानमा रहिन्। म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो भएका सुशीलले दुई लाख ५० हजार र तेस्रो स्थानका नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए। हाफ म्याराथनमा च्याम्पियन पूर्णलक्ष्मीले एक लाख रुपैयाँ पाइन्।

दोस्रोदेखि दशौं स्थानका धावकले क्रमशः ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ पाए। भेट्रान्स पाँच किमी दौडमा धर्म महर्जन पहिलो भए। रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रूपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए। पाँच  किलोमिटर दौड गल्र्समा दीपशीखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे । पाँच किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान प्राप्त गरे।

म्याराथनकै अवसरमा तीन किलोमिटर वाकाथन पनि आयोजना भयो। पिस म्याराथन नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो। विजेतालाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा भारत, चीन र केन्याका खेलाडीहरूको सहभागिता रहेको थियो। शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त म्याराथनले खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०८२ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App