लिभरपुलका प्रशिक्षक आर्ने स्लट सिजनको पहिलो खेलमै उपाधि जित्ने अवसर प्रतीक्षा गर्दै छन्, जहाँ प्रिमियर लिग च्याम्पियन उनको टोली केही नयाँ पनि देखिएको छ।
लिगको च्याम्पियन लिभरपुल आइतबार कम्युनिटी सिल्डमा क्रिस्टल प्यालेससँग भिड्दै नयाँ सिजनको सुरुआत पनि गर्दै छ। चार खेल बाँकी छँदा नै लिभरपुलले गत सिजन इङ्लिस फुटबलको सर्वाधिक २०औं जित्ने कीर्तिमान बराबर गरेको थियो। यसपल्ट पनि लिभरपुल सुखद सुरुआत गर्ने लक्ष्यमा छ।
लिभरपुलले ट्रान्सफर मार्केटमा ३०० मिलियन पाउन्ड (४०२ मिलियन डलर) खर्चदै नयाँ खेलाडीहरू पनि यस सिजन भित्राइसकेको छ। नयाँ फरवार्ड फ्लोरियन विट्र्ज र ह्युगो एकिटिके, फुलब्याक मिलोस केर्केज र जेरेमी फ्रिमपोङले लिभरपुलका प्रशंसकहरूको मन जित्ने पहिलो अवसर पाउनेछन्। कम्युनिटी शिल्डमा प्रिमियर लिग र एफए कप विजेताहरू आमनेसामने भएपछि इङ्लिस फुटबलको सिजन सुरु गर्ने प्रचलन छ।
‘उपाधि जित्न धेरै खेल जित्नुपर्छ,‘स्लटले प्रिम्याच प्रेस कन्फ्रेन्समा भने,‘सिजनको सुरुवातमा नै जित निकाल्ने अवसर पाएका छौं। सुरुमै हामीले क्रिस्टल प्यालेसजस्तो राम्रो टोलीलाई सामना गर्नुपर्छ। जसलाई हराउन धेरै गाह्रो हुने गरेको छ। उनीहरूले गत एफए कप देखाइसकेका छन् कि उनीहरूसँग एक खेलमा जित्न कतिको गाह्रो हुन्छ।’
गत मेमा म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै क्रिस्टल प्यालेसले पहिलो प्रमुख उपाधिका रूपमा एफए कप जितेका थिए। त्यसका कारण प्यालेसले पहिलोपल्ट सिजनको सुरुमै प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन्। तर, युरोपेली फुटबल संघ (युइएफए) ले मल्टी क्लब स्वामित्व नियम उल्लंघन गरेको भन्दै प्यालेसलाई युरोपा लिगबाट बाहिर पठाएको थियो। साथै कन्फेरेन्स लिग (युरोपेली प्रतियोगिताको तेस्रो स्तर) मा खेल्न बाध्य बनाएको छ।
अमेरिकी व्यवसायी जोन टेक्स्टर प्यालेसमा शेयरधनि हुन्। साथै उनी फ्रान्सेली क्लब लियोनका बहुमत शेयरधनी पनि हुन्, जसले युरोपा लिगमा खेल्छ। यसपछि भने टेक्स्टरले आफ्नो शेयर न्युयोर्क जेट्सका मालिक वुडी जोन्सनलाई बेचिसकेका छन्।
प्यालेसले नियम उल्लंघनबाट बच्न अन्तिम म्यादभित्रै शेयर नबेचेको युइएफएले निष्कर्ष निकालेको छ। युइएफए मल्टी क्लब स्वामित्व नियमअनुसार लियोनले युरोपा लिगमा रहने अनुमति पाएको छ किनभने उनीहरूले लिग वानमा छैटौं स्थान ओगटेको थियो। जुन प्यालेसभन्दा (प्रिमियर लिगमा १२औं) राम्रो नतिजा हो। तर, प्यालेसले स्विट्जरल्यान्डस्थित कोर्ट अफ आर्बिट्रेसन फर स्पोट्र्स (सिएएस) मा उक्त निर्णयविरुद्ध अपिल गरेको छ।
गुएही र इजे सुरुआत
लिभरपुलले ट्रान्सफरमा ठूलो रकम खर्च गरेको छ भने प्यालेसले क्रोएसियन लेफ्टब्याक बोर्ना सोसा र नयाँ रिजर्भ गोलकिपर वाल्टर बेनिटेजका लागि मात्र दुई मिलियन पाउन्ड खर्च गरेको छ। तर, दक्षिण लन्डन क्लब प्यालेसले इङ्लिस र युरोपेली ठूला क्लबहरूले चासोमा राखेका आफ्ना स्टार खेलाडीलाई क्लबमा नै राख्न सफल भएको छ।
लिभरपुलले नै प्यालेस कप्तान मार्क गुएहीलाई भित्राउने चासो देखाएको छ। एबेरेची इजे आर्सेनलमा जाने चर्चा छ। प्यालेस प्रशिक्षक ओलिभर ग्लासनरले यी दुवै खेलाडीले वेम्बलीमा सुरुआत गर्ने पुष्टी गरेका छन्।
गत सिजनमा क्रिस्टल राम्रो सुरुआत गरे पनि लिगको आधा स्थानभित्र रहन असफल भएको थियो। यसपटक उनीहरूले शीर्षस्थान लिन सक्ने विश्वास गरेका छन्। ‘हामीले पूर्ण रूपमा फरक स्तरबाट सुरुआत गरेका छौं।
गत सिजनभन्दा फरक मानसिकता लिएका छौं। यसैले यस सिजनलाई धेरै सकारात्मक रूपमा हेर्न सक्छौं,‘ग्लासनरले भने। खेल सुरु हुनुअगाडि लिभरपुल फरवार्ड डियोगो जोटा (२८) लाई श्रद्धाञ्जली दिइनेछ। उनको गत महिना कार दुर्घटनामा परी निधन भएका थिए। लिभरपुलले यस सिजनमा आफ्ना जर्सीमा फरेभर २० (जोटाको रिटायर भएको नम्बर) प्रिन्ट गर्नेछ। ‘यो दुर्घटनाले हामीलाई प्रभावित गरेको छ। उनकी पत्नी, बच्चा र आमाबुबालाई झन धेरै प्रभावित गरेको छ,‘ स्लटले थपे, ‘श्रद्धाञ्जलीहरू सबै भावनात्मक छन्।’
प्रकाशित: २५ श्रावण २०८२ ०८:३० आइतबार




