३१ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

काराबाओ कपमा लिभरपुल र आर्सनल विजयी, आज युनाइटेडकोसहित चार खेल

काराबाओ कप फुटबलको तेस्रो चरणअन्तर्गत गएराति भएका खेलमा लिभरपुल र आर्सनलसहित पाँच टोलीले चौथो चरणमा स्थान बनाएका छन्।

लिभरपुलले टोटेनहम हटस्परलाई ३-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टरले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। कोडी गाक्पोले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनाए। टोटेनहमका कोनोर गालाघरले गोल फर्काए पनि इन्जुरी समयमा डोमिनिक स्जोबोस्लाईले उत्कृष्ट गोल गर्दै लिभरपुलको जित पक्का गरे।

आर्सनलले इप्सविच टाउनलाई ४-२ ले हरायो। आर्सनलका लागि १६ वर्षीय म्याक्स डोम्यानले दुई गोल गरे। उनी एकै खेलमा दुई गोल गर्ने इतिहासकै दोस्रो १६ वर्षीय खेलाडी बनेका छन्। ननी माडुके र मिकेल मेरिनोले पनि आर्सनलका लागि गोल गरे।

यस्तै, फुलहमले वेस्ट ह्याम युनाइटेडलाई ३-२ ले पराजित गर्‍यो। फुलहमका लागि ओस्कार बोबले ७८औँ मिनेटमा निर्णायक गोल गरे। ब्रेन्टफोर्डले रिडिङलाई २-१ ले हराउँदै अर्को चरणमा प्रवेश गर्दा पिटरबरो युनाइटेडले बार्न्स्लेसँग ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ७-६ को जित निकाल्यो।

आज चार खेल

काराबाओ कपमा आज बुधबार राति तेस्रो चरणका थप चार खेल हुँदैछन्। नेपाली समयअनुसार राति १२ः३० बजे एभर्टनले वुल्भ्स तथा फ्लीटवुड टाउनले सेफिल्ड युनाइटेडसँग खेल्नेछन्। यस्तै, राति १२ः४५ बजे कोभेन्ट्री सिटीले एस्टन भिल्लाको सामना गर्नेछ। सबैभन्दा चासो रहेको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटन एन्ड होभ एल्बियनलाई ओल्ड ट्राफोर्डमा आतिथ्यता दिनेछ। यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

म्यानचेस्टर युनाइटेडका लागि यो खेल विशेष महत्वको छ। उसले पछिल्लो प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीसँग १-० को हार बेहोरेको थियो। त्यस खेलमा एर्लिङ हालान्डको निर्णायक गोललाई लिएर भएको भीएआर विवादपछि युनाइटेड घरेलु कपमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।

आजको युनाइटेड-ब्राइटन खेल सकिएपछि काराबाओ कपको चौथो चरणको ड्र पनि हुनेछ। ड्र बुधबार राति नै हुने तय भएको छ।

काराबाओ कपको तेस्रो चरणमा बिहीबार भने म्यानचेस्टर सिटीले नर्विच सिटीसँग खेल्नेछ।

प्रकाशित: ३१ भाद्र २०८३ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App