लालीगुराँस एसोसिएसनले लगातार तेस्रो खेलमा पनि बराबरीको नतिजा बेहोरेपछि जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको दाबेदारीमा कमजोर देखिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँस बुधबार न्युरोड टिम (एनआरटी) क्लबसँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो। यससँगै लालीगुराँसले लगातार तेस्रो खेलमा बराबरीको नतिजा सामना गर्यो। यसअघि लालीगुराँसले आठौं खेलमा फ्रेन्ड्ससँग १–१ र नवौं खेलमा संकटा क्लबसँग गोलरहित बराबरीको नतिजा बेहोरेको थियो। दशौं खेलमा पनि लालीगुराँसले जित निकाल्न सकेन। सातौं चरणसम्म लिगमा अग्रता लिएको लालीगुराँसको शीर्ष होडमा पछि पर्यो । एक खेल कम खेलेको मच्छिन्द्रसँग लालीगुराँस दुई अंकले पछि परिसकेको छ। लालीगुराँसका आशिष गुरुङ र एनआरटीका कप्तान अञ्जन बिष्टले गोल गरे। यद्यपि, एनआरटीविरुद्ध लालीगुराँसले खेलमा पुनरागमन गरेको हो।
आशिषले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि लालीगुराँस न्युरोड टिम (एनआरटी) सँग अंक खोस्न सफल भयो। नेपाली राष्ट्रिय टोलीका स्टार अञ्जन बिष्टको कप्तानीमा रहेको एनआरटी अन्तिम समयमा समालिन नसक्दा अंक गुमाउन पुग्यो। एन्फा कम्प्लेक्समा कप्तान अञ्जनको गोलमा एनआरटीले २६औं मिनेटमा अग्रता लिएको थियो तर अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो। जारी लिगमा एनआरटीको चौथो बराबरी हो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका आशिषले गोल गर्दै लालीगुराँसलाई हारबाट बचाएका हुन्। बराबरीपछि एनआरटी लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो। एनआरटी सातौं स्थानमै सीमित भएको छ।
१० खेलबाट एनआरटीले १९ अंक जोडेको छ। समान १० खेलबाट लालीगुराँस २० अंक जोड्दै चौथो स्थानमा उक्लियो। जितले लालीगुराँस कम्तीमा पनि शीर्ष दुईमा पुग्ने थियो तर सफलता पाउन सकेन। बुधबार नै भएको खेलमा जावलाखेल युथ र सातदोबाटो युथ क्लब १–१ को बराबरीमा रोकिए। जावलाखेलका बौबाकर सिसोखो र सातदोबाटो युथका जगजित श्रेष्ठले एक गोल गरे। जितनजिक पुगेको जावलाखेल समालिन सकेन र अंक गुमायो। सातदोबाटोले इन्जुरी समयमा गोल फर्काएको हो। जगजितले सानदार गोल गर्दै सातदोबाटोको हार टारे। करिब ३० यार्डबाट उनको सशक्त प्रहार पहिलो बारको टप कर्नर हुँदै गोलमा परिणत भयो।
जावलाखेल ९ खेलबाट १० अंक जोड्दै १०औं स्थानमा छ। सातदोबाटोलाई हराउँदा जावलाखेलले दुई स्थान सुधार गर्ने थियो तर इन्जुरी समयमा जगजितले गोल फकार्एपछि जावलाखेलको लक्ष्य पूरा भएन। उनी प्लेअर अफ दी म्याच पनि भए। सातदोबाटो ९ खेलबाट सात अंकसहित १४औं स्थानमा उक्लिएको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ ०६:३३ बिहीबार





