ओपनर कुशल भुर्तेलको जिम्मेवारीपूर्ण अर्धशतक र अन्त्यतिर गुल्सन झाको विस्फोटक ब्याटिङको मद्दतले आइसीसी टी-२० विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो।
नेपालको सुरुवात भने राम्रो हुन सकेन। तेस्रो ओभरमै नेपालले ५ रनको स्कोरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।
उनी ७ बलमा २ रन बनाएर अकिफ फारुकको बलमा एलबीडब्ल्यू आउट भए। त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेलले १५ बलमा ३ चौकासहित १६ रन जोड्दै इनिङ्स उकास्ने प्रयास गरे पनि थदथिल राजेन्द्रन नवीनराजले उनलाई बोल्ड गरे।
त्यतिबेला नेपालको स्कोर ७.२ ओभरमा ४६ रन थियो। त्यसलगत्तै नेपालको मध्यक्रम धर्मरायो।
कुशल मल्ल ९ बलमा ४ रन बनाउँदै नवीनराजकै दोस्रो शिकार बने भने सन्दीप जोरा ६ बलमा ५ रन बनाएर अस्लम मोहम्मदको बलमा स्टम्पिङ आउट भए। ११.४ ओभरमा ६३ रनमा ४ विकेट गुमाएर नेपाल संकटपूर्ण अवस्थामा पुगेको थियो।
एकतर्फबाट विकेट झरिरहे पनि ओपनर कुशल भुर्तेलले संयमित र उत्कृष्ट ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हाले। उनले दीपेन्द्रसिंह ऐरीसँग पाँचौ विकेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरे।
नेपालका लागि सर्वाधिक रन जोडेका कुशलले ५६ बलमा ६ चौका र ३ छक्कासहित ६६ रनको सानदार योगदान दिए। दीपेन्द्र १९ बलमा २० रन बनाएर रनआउट भए।
अन्तिम ओभरहरूमा ब्याटिङमा आएका गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए। उनले मात्र ६ बलमा ३ छक्काको मद्दतले २० रन जोडे। अन्त्यमा सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे।
कुवेतका लागि चेन्थामारा अनुदीप र थदथिल राजेन्द्रन नवीनराजले किफायती बलिङ गर्दै समान २-२ विकेट लिए।
त्यस्तै, अकिफ फारुक र अस्लम मोहम्मदले एक-एक विकेट हात पारे। अब कुवेतले १४२ रनको लक्ष्य पछ्याउनेछ।
प्रकाशित: २२ आश्विन २०८२ २२:१२ बुधबार





