लगातार पाँचौं हारसँगै सेमिफाइनल पुग्न असफल नेपालले पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपको पाँचौं स्थानका लागि खेल्ने भएको छ।
इस्लामावादमा सोमबार भएको लिगको आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सेटमा पराजित भयो। यससँगै लगातार पाँचौं हार बेहोरेको नेपालले पाँचौं स्थानका लागि कजाखस्तानसँग खेल्ने भएको हो। ६ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष चारले सेमिफाइनलमा खेल्दा पुछारका दुई टोलीले पाँचौं स्थानका लागि खेल्न लागेका हुन्।
पहिलो सेमिफाइनलमा पाकिस्तानले श्रीलंकासँग तथा दोस्रो सेमिफाइनलमा बंगलादेशले उज्बेकिस्तानसँग खेल्ने तालिका छ। यो खेल पनि मंगलबार नै हुनेछ। समान पाँच खेलबाट घरेलु टोली पाकिस्तान अपराजित रहँदै अंकतालिकाको शीर्ष स्थानमा रह्यो। पाकिस्तानले सोमबार कजाखस्तानलाई सोझो सेटमा हराउँदै लिगमा अपराजित यात्रा कायमै राखेको हो।
पाकिस्तानले कजाखस्तानलाई २५–२३, २५–१९ र २५–२१ ले पराजित गर्यो। घरेलु टोलीले एउटा सेट पनि नगुमाई सेमिफाइनल खेल्दै छ। समान पाँच खेलबाट उब्जेकिस्तान ९ अंकसहित दोस्रोमा, बंगलादेश आठ अंकसहित तेस्रोमा र श्रीलंका ६ अंकसहित चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन्। बंगलादेशले सोमबार नै श्रीलंकामाथि ३–२ को सेटमा नतिजा निकाल्दै चौथो जित आत्मसात् गरेको हो।
श्रीलंकाले दुई सेटको अग्रता जोगाउन असफल हुँदा हार बेहोर्यो। श्रीलंकाले पहिलो दुई सेट २६–२४ र २६–२४ ले आफ्नो बनाएको थियो। तर, बंगलादेशले उत्कृष्ट पुनरागमन गर्यो। बंगलादेशले तेस्रो सेट २५–२३ र चौथो सेट २५–२१ ले आफ्नो बनाउँदै निर्णायक सेटसम्म खेल धकेल्यो। निर्णायक सेटमा पनि बंगलादेशले १५–१२ ले बाजी मार्यो। यससँगै श्रीलंकाले तेस्रो हार सामना गर्यो।
चुनौती दिए पनि नेपाल सेट जित्न असफल
नेपाली टोलीले उज्बेकिस्तानसँगको तिनै सेटमा चुनौती दिए पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन। अन्ततः नेपाली टोली ३–० ले पराजित भएपछि पाकिस्तानको जितविहीन यात्रा जारी रह्यो। पहिलो सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। तर, यो सेट उब्जेकिस्तानले २६–२४ ले आफ्नो पक्षमा पार्यो। नेपालले दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले सुम्पियो।
यो हारसँगै ६ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने नेपालको झिनो सम्भावना समाप्त भएको हो। नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा हराउँदा र अन्य दुई खेलको नतिजा आफू अनुकूल आउँदा सेमिफाइनल पुग्ने अंकगणीतिय सम्भावना थियो। तर, नेपाली टोलीले उल्टै सोझो सेटमा हार बेहोर्यो।
पाँचौं हारसँगै नेपाल लिगको अंकतालिकामा पुछारमा रह्यो। नेपालले पाँचौं स्थानका लागि कजाखस्तानसँग मंगलबार खेल्नेछ। लिगचरणमा पनि नेपाल कजाखस्तानसँग ३–२ ले पराजित भइसकेको छ। दोस्रोपल्ट नेपाली टोलीले कजाखस्तानसँग खेल्ने भएको छ। च्याम्पियनसिपमा नेपालको यो दोस्रो सोझो सेटमा हार हो।
यसअघि पाकिस्तानसँग पनि नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको थियो। अन्य तीन खेलमा भने नेपालले बंगलादेश, श्रीलंका र कजाखस्तानसँग ३–२ ले पराजित भएको थियो।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को विश्व वरीयता गणना हुने प्रतिस्पर्धा हो। च्याम्पियनसिपमा नेपाल र कजाखस्तानसहित आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। फाइनल जुलाई २९ मा हुनेछ।
प्रकाशित: १२ श्रावण २०८३ ०६:३७ मंगलबार


-600x400.jpg)


