१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

काभा मेन्स भलिबल: नेपाल जितविहीन हुँदै बाहिर

नेपाली टोली पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनसिपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

इस्लामाबादमा मंगलबार भएको पाँचौं स्थानको खेलमा नेपाली टोली कजाखस्तानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै च्याम्पियनसिपमा जितविहीन हुँदै बाहिरिएको हो। लियाकत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिर्धात्मक प्रदर्शन गर्न सक्यो। पहिलो सेटमा नेपालले २५–१८ ले सहजै गुमायो। दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो। तर, यो सेट पनि कजाखस्तानले २७–२५ ले आफ्नो बनायो। तेस्रो सेटमार्फत नेपाल खेलमा फर्कने आशा गरिएको थियो। तर, यो सेट पनि नेपालले २५–२० ले गुमाएपछि जितविहीन हुँदै देश फर्किने भएको छ। नेपाली टोली दोस्रोपल्ट कजाखस्तानसँग पराजित भयो।

यसअघि लिगचरणमा पनि नेपालले कजाखस्तानसँग ३–२ को हार बेहोरेको थियो। समूहचरणमा पनि नेपालले पाँच खेलमा हार बेहोरेको थियो। ६ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपालको यो छैटौं हार हो। जहाँ नेपाली टोली जितविहीन हुँदै बाहिरिन पुग्यो। नेपालले लिग चरणमा बंगलादेश, कजाखस्तान र श्रीलंकासँग ३–२ को हार बेहोरेको थियो।

 उज्बेकिस्तान र पाकिस्तानले भने नेपाललाई ३–० को सेटमा हराएको थियो। च्याम्पियनसिपमा नेपाल र कजाखस्तानसहित आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। फाइनल जुलाई २९ मा हुनेछ।

बंगलादेश र पाकिस्तान फाइनलमा

दक्षिण एसियाली टोली बंगलादेश र पाकिस्तान काभा मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन्।

घरेलु टोली पाकिस्तान अपराजित रहँदै च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएको छ। मंगलबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्यो। पाकिस्तान दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकामाथि सहजै हाबी भयो। पहिलो दुई सेटमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्‍यो। पाकिस्तानले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१० ले आफ्नो पक्षमा बनायो। तेस्रो सेटमा भने श्रीलंकाले चुनौती दिँदै खेलमा फर्कने प्रयास गर्‍यो तर यो सेट पनि पाकिस्तानले २५–२१ ले आफ्नो बनाउँदै फाइनलमा पुग्यो।

यो जितसँगै पाकिस्तान अपराजित रहँदै फाइनलमा पुग्यो। पाकिस्तान अहिलेसम्म एउटा सेट पनि नगुमाई उपाधि भिडन्त गर्दै छ। फाइनलसम्मको यात्रामा पाकिस्तानले १८ सेट नै आफ्नो पक्षमा पारेको छ। त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले उब्जेकिस्तानमाथि ३–० को सोझो सेटमा जित रच्यो। बंगलादेशले २५–२१, २५–२० र २५–१९ ले सहजै नतिजा निकाल्यो।  

प्रकाशित: १३ श्रावण २०८३ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App