नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई सशक्त टोलीहरू काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमने-सामने हुँदैछन्।
प्रतियोगिताको लिग चरण अन्तर्गत आज हुने यो खेल दुवै टोलीका लागि प्लेअफको यात्रा सुरक्षित गर्न निकै महत्त्वपूर्ण मानिएको छ। अङ्क तालिकामा समान २–२ अङ्क बटुलेका यी दुई टोलीबीचको आजको खेलले प्लेअफ समीकरणमा ठूलो अर्थ राख्नेछ।
काठमाडौं गुर्खाज
राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर करण केसीको कप्तानी तथा मार्की खेलाडीको भूमिकामा रहेको काठमाडौं गुर्खाजले आज प्रतियोगितामा आफ्नो चौथो खेल खेल्दैछ।
मुख्य प्रशिक्षक मोन्टी देसाईको रणनीतिक नेतृत्वमा रहेको काठमाडौंले यस सिजनको सुरुवात निकै सानदार ढङ्गले गरेको थियो।
गत नोभेम्बर १७ मा भएको आफ्नो पहिलो खेलमा काठमाडौंले साविक विजेता तथा बलियो मानिएको जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। उक्त जितपछि काठमाडौंलाई उपाधिकै दाबेदारका रूपमा हेरिएको थियो।
तथापि, पहिलो खेलको त्यो लय काठमाडौंले पछिल्ला खेलहरूमा निरन्तरता दिन सकेन। नोभेम्बर १९ मा भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनको फराकिलो हार व्यहोर्न पुगेको काठमाडौं, नोभेम्बर २२ मा भएको तेस्रो खेलमा विराटनगर किंग्ससँग पनि ५ विकेटले पराजित भयो।
काठमाडौंले हालसम्म खेलेका ३ खेलमा १ जित र २ हारसहित जम्मा २ अङ्क जोडेको छ। विशेषगरी ब्याटिङमा देखिएको अस्थिरता र बलिङमा विपक्षीलाई रोक्न नसक्दा टोली दबाबमा परेको देखिन्छ।
पहिलो सिजनमा नेट रनरेटका कारण प्लेअफमा पुग्नबाट वञ्चित भएको काठमाडौं विगतको गल्ती नदोहोर्याउने उद्देश्यका साथ आज मैदान उत्रनेछ।
लुम्बिनी लायन्स
राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले आज जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्दैछ।
लुम्बिनीको जारी सिजनको यात्रा उतारचढावपूर्ण रहेको छ। नोभेम्बर २० मा भएको आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सुखद नतिजा निकालेको लुम्बिनीले त्यसको दुई दिनपछि नै ठूलो धक्का महसुस गर्यो।
नोभेम्बर २२ मा भएको कर्णाली याक्सविरुद्धको खेलमा लुम्बिनी ९ विकेटको लज्जास्पद र फराकिलो अन्तरले पराजित हुन पुग्यो। उक्त खेलमा लुम्बिनीका ब्याटरहरू चल्न सकेनन् भने बलरहरूले कर्णालीको मात्र एक विकेट लिन सके।
सोही खेलमा यस सिजनको पहिलो शतकसमेत प्रहार भएको थियो। जसले लुम्बिनीको बलिङ कमजोरीलाई उदाङ्गो पारिदियो। हालसम्म खेलेका २ खेलमा १ जित र १ हारसहित लुम्बिनीले पनि २ अङ्क मात्र जोडेको छ।
पहिलो सिजनमा खराब प्रदर्शन गर्दै बाहिरिने पहिलो टोली बनेको लुम्बिनी, यस पटक रोहित पौडेलको कप्तानीमा आफ्नो साख जोगाउन र शीर्ष ४ मा स्थान बनाउन सङ्घर्षरत छ।
काठमाडौं र लुम्बिनी दुवै टोली २–२ अङ्कको स्थितिमा छन्। अङ्क तालिकामा काठमाडौं तेस्रो र लुम्बिनीको चौथो स्थानमा छन्।
काठमाडौं लगातार दुई हारको शृङ्खला तोड्दै लयमा फर्कन चाहन्छ भने लुम्बिनी अघिल्लो फराकिलो हारको पीडा बिर्सेर जितको लय समात्न चाहन्छ।
काठमाडौंको ब्याटिङ र बलिङमा देखिएको असन्तुलन सुधार्नु प्रशिक्षक मोन्टी देसाईका लागि चुनौती भने हुनेछ। यता लुम्बिनीका कप्तान रोहित पौडेलले आफ्नो टोलीको मनोबल उच्च राख्न जिम्मेवारीपूर्ण इनिङ खेल्नुपर्ने देखिन्छ।
आजको खेल जित्ने टोलीले प्लेअफको यात्रा सहज बनाउनेछ भने हार्ने टोलीका लागि आगामी यात्रा थप कठिन बन्ने निश्चित छ।
प्रकाशित: ९ मंसिर २०८२ १४:३६ मंगलबार




