५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

कर्णाली याक्सले भित्रायो पाकिस्तानका हुसैन तलात

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ।

क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्राएको हो। लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन्।  

तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन्। त्यस्तै, ६३ विकेट लिएका छन्। यसक्रममा दुई अर्धसतक बनाएका थिए।  

एकदिवसीयतर्फ १२ खेल खेल्दा २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन्। लिष्ट ए मा भने १२५ खेल खेल्दा ३ हजार ७५४ रन बनाएका छन्। यस्तै, १४१ विकेट लिएका छन्।  

तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुबै मजबुद भएको कर्णाली याक्स स्पोट्स् प्रा.लीमा मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन्।  

उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए। ‘पाकिस्तानी अलराउन्डरको आगमनसँगै हाम्रो टिमको ब्याटिङ र बलिङ दुबै पक्ष बलियो हुने विश्वास लिएका छौं,’ उनले भने, ‘आगामी दुई सम्झौतालाई पनि दर्शकले मन पराउनु हुनेछ भन्ने लाग्छ। कर्णाली याक्समा चर्चित अनुहार देख्न पाउनुहुनेछ।’

पाकिस्तानी अलराउन्डर तेस्रो सिजनको लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्। यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई कर्णालीले भित्राइसकेको छ। त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन्। वाटबाहेक तला, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्दैछन्।  

कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्। यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्।

यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र  दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८३ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App