५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन्।

उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे।

ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए।

आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार आफूसँग रहेको उनको भनाइ थियो।

इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकामा प्रशंसा गरे।

उनले रुस र चीनलाई सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी बैठक गर्ने सम्भावनालाई पनि सकारात्मक बताए।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहलस्वरूप वर्तमान अग्रपङ्क्तिमा लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको बताए।

फक्स न्युजसँग कुरा गर्दै उनले युद्धविरामपछि अमेरिका र युरोपेली राष्ट्रहरूबाट सुरक्षा प्रत्याभूति खोजिने स्पष्ट पारे।

डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धमैदानमा विजय हासिल गरिरहेको दाबी अस्वीकार गरे।

उनले वर्तमान युद्धक्षेत्रको अवस्थालाई आधार बनाएर वार्ता सुरु गर्नुपर्ने र त्यसबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने बताए।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच चीनमा हुने आगामी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने बताएका थिए।

प्रकाशित: ५ कार्तिक २०८३ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App