१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक, आठ टिम सहभागी हुने

ताप्लेजुङको फुङलिङमा मंसिर १३ गतेदेखि हुने कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

चासोक तङनाम २०८२ को अवसर पारेर भानुजन माविको खेल मैदानमा हुने महिला गोल्डकपको पहिलो खेलमा मंसिर १३ गते सिरिजङ्गा गाउँपालिकाले मैवाखोला गाउँपालिकाको टिमसँग स्पर्धा गर्ने चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिए। दोस्रो खेलमा १४ गते पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको टिम आमनेसामने हुँदा १५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको टिमबिच भिडन्त हुने छ। पहिलो चरणको अन्तिम खेलमा मंसिर १६ गते सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिका भिड्दै छन्।

मंसिर १७ गते हुने पहिलो सेमीफाइनलमा सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिचको विजेतासँग फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाबिचको विजेता फाइनल यात्रामा लागि भिड्ने छन्। फाइनल पुग्ने दोस्रो टोलीको निर्णयका लागि मंसिर १८ गते पाथीभरा याङवरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको खेलको विजेता तथा सिदिङ्वा गाउँपालिका र मेरिङदेन गाउँपालिकाबिचको विजेता आमनेसामने हुने छन्।

मंसिर १९ गते साँस्कृतिक कार्यक्रम भइ मंसिर २० गते फाइनल खेल हुने आयोजक कञ्चनजंघा फुङलिङ क्लबका अध्यक्ष अशोककुमार थेबेले जानकारी दिए। चासोक तङनाम सञ्चालन समिति, कञ्चनजंघा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङ मुख्य आयोजक भइ हुने प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउने समितिका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिए। 

म्यान अफ द म्याच हुने खेलाडीलाई जनही ५ हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही ८ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मादेनले बताए।

प्रकाशित: ८ मंसिर २०८२ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App