१६ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

कालिका कप भलिबल : घले हार्भेस्टिङ च्याम्पियन, महिला तर्फ इलाइट एकेडेमी विजेता

कालिका कप २०८२ अन्तर्गत आयोजित खुला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ घले हार्भेस्टिङ अष्ट्रेलिया र महिलातर्फ इलाइट भलिबल एकेडेमी पोखरा च्याम्पियन बनेका छन्। चैताष्टमी मेलाको अवसरमा आयोजित प्रतियोगितामा दुवै विधामा रोचक प्रतिस्पर्धा भएको थियो।

पुरुषतर्फको फाइनलमा घले हार्भेस्टिङले सिद्धार्थ चस्मा घर बागलुङलाई ३–२ सेटले पराजित गर्दै उपाधि जित्यो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट जितेको घलेले दोस्रो र तेस्रो सेट गुमाए पनि चौथो र निर्णायक पाँचौं सेट जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। उपाधि जिताउन ओपन स्पाइकर पहल गहतराजले महत्वपूर्ण भूमिका खेले। विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता सिद्धार्थ चस्मा घरले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

तेस्रो स्थान आदित्य होल्डिङ तित्याङले हासिल गर्‍यो। प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, सेटरलगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो।

महिलातर्फ इलाइट भलिबल एकेडेमी पोखराले फाइनलमा शान्ति माविलाई सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि जित्यो। इलाइटका लागि जेनिसा विश्वकर्मा र रिक्जना बोटेले उत्कृष्ट प्रदर्शन गरे। विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता शान्ति माविले ५० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गर्‍यो।

तेस्रो स्थान सिर्जना फर्निचर धवी माविले हासिल गर्‍यो। महिलातर्फ पनि विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो।

चैत १० गतेदेखि सुरु भएको प्रतियोगिता फाइनल खेल सम्पन्न भएसँगै समापन गरिएको हो। प्रतियोगितासँगै मेलामा सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी लगायत गतिविधिहरू पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८२ १९:३७ सोमबार