१६ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा युवा समाज मोरङ विजयी भएको छ।
सोमबार भएको रात्रिकालीन फुटबल प्रतियोगितामा जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।
इटहरी वडा नं. ९ को रंगशालामा भएको खेलमा मोरङको जितमा श्रीजन गौतम, सुजन डंगोल र दोर्जे तामाङले एक–एक गोल गरे। खेलको चौथो मिनेटमै श्रीजनले गोल गर्दै मोरङलाई अग्रता दिलाए। खेलको ३५औं मिनेटमा नाइजेरियाका डिबोला हामजामले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। डेबिड ओलवोको फ्रिकिक मोरङका गोलकिपर प्रमञ्जय गच्छदारले नियन्त्रण गर्न नसक्दा आएको रिबाउण्ड बललाई हामजामले सदुपयोग गरेका थिए। पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ३८ औं मिनेटमा सुजन डंगोल र ४२ औं मिनेटमा दोर्जे तामाङले गोल थपेपछि खेल ३–१ को अवस्थामा पुगेको थियो।खेलको अन्त्यतिर थपिएको पाँच मिनेटको अतिरिक्त समयमा एडिगन पिटरले एक गोल फर्काएर खेललाई ३–२ को स्थितिमा पुर्याए। खेलको ‘प्लेयर अफ दि म्याच’ विजयी टीमका दोर्जे तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेलमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र झापा–११ बिच प्रतिस्पर्धा हुनेछ। इटहरी गोल्डकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको मछिन्द्र र झापा ११ बिच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा प्रतिस्पर्धा भएको थियो। जसमा मछिन्द्रले १–० को अन्तरले जित निकालेको थियो। मंगलबारको विजेता टिमले सेमिफाइनलमा युवा समाज मोरङसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता छ। विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताको कुल अनुमानित खर्च ८८ लाख ५० हजार रुपैयाँ रहेको क्लबका अध्यक्ष केशव कार्कीले बताए। राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: १ वैशाख २०८३ १०:०५ मंगलबार

