साविक विजेता मछिन्द्र फुटबल क्लब इटहरीमा जारी १६ औं अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
इटहरी वडा नं. ९ को रंगशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । यसअघि मछिन्द्रले दुईपटक उपाधि उचालि सकेको छ । १५ औं संस्करणमा मछिन्द्रले सगरमाथा युथ क्लब मोरङलाई हराएर उपाधि हात पारेको थियो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टीमले १–१ को बराबरीमा पुर्याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो ।
सडेनडेथमा मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए । यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौषम मगरले बचाएका थिए ।
झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु, सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगर र विशाल मादीले प्रहार गरेको वल आकाशिएको थियो ।
खेलमा मछिन्द्र क्लबका सनिस श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको थियो ।
बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित: २ वैशाख २०८३ ०९:०७ बुधबार





