आइपिएल २०२६ को २९ औं खेलमा पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो स्थान बलियो बनाएको छ। प्रियांश आर्य र कूपर कोनोलीको शानदार ब्याटिङको मद्दतले पञ्जाबले यस सिजनकै उच्च योगफल तयार पारेको हो।
आइतबार घरेलु मैदान (महाराजा यादविन्द्र सिंह इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यू चण्डीगढ) मा भएको खेलमा पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गर्यो। पहिले ब्याटिङ गर्दै पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर २५४ रन बनाएको थियो। २५५ रनको लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो।
यो जितसँगै पञ्जाब ६ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा पुगेको छ।
पहिले ब्याटिङ गरेको पञ्जाबका लागि प्रियांश आर्य र कूपर कोनोलीले दोस्रो विकेटका लागि ८० बलमा १८२ रनको साझेदारी गरेका थिए। कोनोलीले ४६ बलमा ८७ रन बनाए भने प्रियांश आर्यले ३७ बलमा ९३ रनको शानदार इनिङ खेले। यो साझेदारीले पञ्जाबलाई ठूलो स्कोर बनाउन मद्दत गर्यो।
जवाफी ब्याटिङमा उत्रिएको लखनऊका लागि कप्तान ऋषभ पन्तले २३ बलमा ४३ रन, एडेन मार्करामले ४२ रन, मिचेल मार्शले ४० रन तथा आयुष बदोनीले ३५ रन जोडे। निकोलस पुरन ९ रनमै आउट भएपछि टोली दबाबमा परेको थियो।
आइतबार नै इडेन गार्डेनमा भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको थियो। यो कोलकाताको यस सिजनको पहिलो जित हो। कोलकाताले यसअघि पञ्जाबसँगको खेल वर्षाका कारण बराबरी हुँदा एक अंक प्राप्त गरेको थियो। अब उनीहरूसँग ७ खेलबाट ३ अंक छ र तालिकाको ९ औं स्थानमा छन्।
पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १५६ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाउँदै पुरा गर्यो।
यो जितले मुम्बई इन्डियन्सलाई ठूलो धक्का लागेको छ। हालसम्म ५ खेलमा १ जित मात्र हासिल गरेको मुम्बई २ अंकसहित अंक तालिकाको १० औं (अन्तिम) स्थानमा छ।
शीर्ष चारको कुरा गर्दा प्लेअफको दौडमा पञ्जाब सबैभन्दा अगाडि छ। अन्य टोलीमा रोयल च्यालेन्जर्स बैंगलोर ६ खेलमा ४ जितसहित ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ। त्यस्तै, राजस्थान रोयल्स पनि ६ खेलमा ४ जितसहित ८ अंकका साथ नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ।
सनराइजर्स हैदराबाद ६ खेलमा ३ जितसहित ६ अंकका साथ चौथो स्थानमा छ भने दिल्ली क्यापिटल्स र गुजरात टाइटन्ससँग दुवै ५ खेलमा ३ जितसहित ६ अंक छ। तर नेट रनरेटमा दिल्ली अगाडि छ।
चेन्नई सुपर किंग्स सातौं र लखनऊ सुपर जायन्ट्स आठौं स्थानमा छन्।
सोमबार (आज) को खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन्। खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
प्रकाशित: ७ वैशाख २०८३ ०७:०३ सोमबार


-600x400.jpg)


