ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा माघ २५ गतेदेखि अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक नाल्वु लिम्बू समाजले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितासहितका कार्यक्रमबारे जानकारी गराएको हो।
समाजका सचिव योगेन नाल्वोका अनुसार अन्तर वडा स्तरीय पुरुष प्रतियोगिताका विजेताले तीनवर्षे रनिङ कप, मेडल र प्रमाण पत्रका साथ २ लाख १ हजार १ सय ११ रुपैयाँ पाउने छ। यो पुरस्कारको प्रायोजन स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उनीहरूका परिवारले गरेका हुन्। उपविजेता हुने टिमले तीनवर्षे रनिङ कप, मेडल र प्रमाणपत्रका साथ १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउने छ। यो पुरस्कार रकमको प्रायोजन स्वर्गीय लालबहादुर नाल्वो, श्रीमती स्वर्गीय तुलामाया नाल्वो, छोराहरू स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उनीहरूका परिवारले गरिदिएको सचिव नाल्वोले जानकारी दिए।
हिला फुटबलतर्फका विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेता हुनेले ३१ हजार १ सय ११ रुपैयाँका साथ तीनवर्षे रनिङ कप, मेडल र प्रमाणपत्र पाउने भएका छन्। महिला फुटबलको विजेता रकम स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उनीहरूका परिवारले गरेका हुन् भने उपविजेताले पाउने पुरस्कार रकम स्वर्गीय लालबहादुर नाल्वो, श्रीमती स्वर्गीय तुलामाया नाल्वो, छोराहरू स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उनीहरूका परिवारले गरिदिएको आर्थिक सहसंयोजक सजन नाल्वोले जानकारी दिए।
पुरुष फुटबलतर्फ सेमीफाइनल पुग्ने दुई टिमलाई नगद १०–१० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने भएको छ। माघ २५ गतेदेखि सुरु हुने प्रतियोगिताका साथ लिम्बू समुदायको मौलिक साँस्कृतिक च्याब्रुङ नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने भएको छ।
च्याब्रुङ नृत्यमा प्रथम हुनेले ३० हजार, द्धितीय हुनेले २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ मेडल र प्रमाणपत्र पाउने भएका छन्। फुटबल प्रतियोगितातर्फ म्यान अफ द म्याच हुनेलाई नगद १ हजार रुपैयाँका साथ प्रमाणपत्र दिइने छ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोल किपर र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजक नाल्वो लिम्बू समाजले जानकारी दिएको छ। समाजका अध्यक्ष देउबहादुर लिम्बूले उक्त क्षेत्रमा रहेका पर्यटकीय स्थल, प्राकृतिक तथा मनोरम सुन्दरता बोकेका केन्द्र, स्थानीय धर्म, संस्कार र संस्कृतिको प्रवर्द्धन गर्न खेलकुदलाई माध्यम बनाई अभियान चालिएको जानकारी दिए।
प्रतियोगिता र मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ। अध्यक्ष लिम्बूका अनुसार स्वर्गीय सुकबहादुर नाल्वोको स्मृतिमा उनीहरूका परिवारद्धारा निर्मित सुकबहादुर नाल्वो स्मृति खेलमैदानमा कार्यक्रम आयोजना हुने अध्यक्ष लिम्बूले जानकारी दिए। उनले खेलमैदान निर्माण सहित खेलकुद र साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वो तथा स्वर्गीय लालबहादुर नाल्वो, श्रीमती स्वर्गीय तुलामाया नाल्वो, छोराहरू स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्वो परिवारप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित: ११ माघ २०८२ १६:३५ आइतबार





