भारतले श्रीलंकालाई पहिलो टेस्टमा १६५ रनले पराजित गर्दै शानदार जित निकालेको छ। ३७२ रनको लक्ष्य पछ्याएको श्रीलंका दोस्रो इनिङ्समा २०६ रनमै अलआउट भएपछि भारतले खेल आफ्नो पक्षमा पारेको हो।
गालेमा भएको टेस्टको अन्तिम दिन श्रीलंकाले ८४/४ बाट खेल अघि बढाएको थियो। जितका लागि थप २८८ रन आवश्यक रहेको अवस्थामा कप्तान धनञ्जय डी सिल्भा र सोनल दिनुषले केही समय भारतीय बलरको सामना गरे। तर भारतीय स्पिनर मानव सुथारले लगातार विकेट निकाल्दै श्रीलंकाको जितको सम्भावना समाप्त गरिदिए।
सुथारले दोस्रो इनिङ्समा २३.४ ओभर बलिङ गर्दै ५५ रन खर्चेर ६ विकेट लिए। प्रसिद्ध कृष्णले दुई तथा मोहम्मद सिराज र रविन्द्र जडेजाले एक-एक विकेट लिए। श्रीलंकाका लागि सोनल दिनुषले सर्वाधिक ८४ रन बनाए। उनले १२८ बलमा आठ चौका र एक छक्का प्रहार गरे। कप्तान धनञ्जयले १५१ बलमा सात चौकासहित ५९ रन बनाए। यी दुईले पाँचौँ विकेटका लागि ९५ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ्स केही समय सम्हालेका थिए।
तर धनञ्जय ५९ रनमा आउट भएपछि श्रीलंकाको मध्यक्रम धराशायी भयो। दिनुष पनि ८४ रनमा आउट भएपछि बाँकी ब्याटरले भारतीय बलिङको सामना गर्न सकेनन्। श्रीलंकाले अन्तिम चार विकेट जम्मा सात रन जोड्दा गुमायो।यसअघि भारतले पहिलो इनिङ्समा ४३६ रन बनाएको थियो। जवाफमा श्रीलंका २१४ रनमा अलआउट भएपछि भारतले पहिलो इनिङ्समै २२२ रनको अग्रता बनाएको थियो। दोस्रो इनिङ्समा भारत १९३ रनमा समेटिए पनि उसले श्रीलंकासामु ३७२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।
सुथारको प्रभावशाली स्पिन बलिङ र भारतीय बलरहरूको अनुशासित प्रदर्शनका कारण श्रीलंका लक्ष्यसम्म पुग्न असफल भयो। यससँगै भारतले टेस्टमा महत्वपूर्ण जित दर्ता गर्दै शृंखलामा आफ्नो स्थिति बलियो बनाएको छ।
प्रकाशित: ३ भाद्र २०८३ १३:५१ बुधबार





