२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

भारत–पाकिस्तान क्रिकेट : हात मिलाउने विषयमा विवाद

पाकिस्तानले एसिया कप क्रिकेटमा सोमबार भएको भारतसँगको खेलका म्याच रेफ्रीविरुद्ध उजुरी दिएको छ । दुबईमा भएको खेलमा भारतले पाकिस्तानमाथि सात विकेटको सहज जित निकालेको थियो । 

गत मेमा युद्धको संघारमा देखिएपछि पहिलोपल्ट भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भएको हो । तर, क्रिकेट मैदानमा पनि दुई देशबिच विवाद देखिएको छ । तर, म्याचमा भारतका खेलाडीले खेल सकिएपछि हात नमिलाई मैदान छाडेपछि विवाद सुरु भएको थियो । पाकिस्तानले भारतसँगै उक्त खेलका म्याच रेफ्री जिम्बाब्वेका एन्डी पेक्रफ्टमाथि उजुरी दिएको छ । म्याच रेफ्रीले नै खेल सुरु हुनुभन्दा अगाडि भारतका कप्तान सूर्यकुमार यादवसँग हात नमिलाउन आफ्ना कप्तान सलमान अघाले भनेको पाकिस्तानले उल्लेख गरेको छ । त्यो खेलमा दुवै कप्तानले हात मिलाएका थिएनन् ।

‘पिसिबीले आइसिसीको कोड अफ कन्डक्ट उल्लंघन गरेकाले म्याच रेफ्रीविरुद्ध उजुरी दर्ता गराएको छ । एमसिसीको नियमअनुसार क्रिकेटको भावनालाई उल्लंघन गर्न पाइने छैन,’ पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का चेयरमेन मोहसिन नाक्भीले भनेका छन् । पिसिबीले तत्कालै टी ट्वान्टी फरम्याटको एसिया कप क्रिकेटबाट एन्डीलाई हटाउन माग राखेको छ । त्यसबारे पिसिबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पनि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा भारतका कप्तान सूर्यकुमार यादवले भारतीय सरकार र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को सुझावअनुसार नै आफ्नो टोलीले त्यसो गरेको बताएका छन् । 

‘भारतीय सरकार र बिसिसिआईको निर्देशनलाई हामीले पालना गरेका हौँ,’ पाकिस्तानका खेलाडीसँग किन हात नमिलाएको भन्ने प्रश्नमा सूर्यकुमारले जबाफ दिए । त्यसको विरोधस्वरूप पाकिस्तानले खेलपछि पत्रकार सम्मेलनमा आफ्ना कप्तान अघालाई पठाएन । आइसिसीको नियमअनुरूप खेलपछि कप्तान पत्रकार सम्मेलनमा जानुपर्थ्यो । दुवै टोली दुबईमा हुने सुपर फोरको खेलमा पनि फेरि खेल्न सक्छन् । तर, त्यसका लागि पाकिस्तानले समूहको अन्तिम खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध जित निकाल्नुपर्नेछ । यदि दुवै टोली फाइनलसम्म पुगेमा आगामी सेप्टेम्बर २८ मा दुबईमा तेस्रोपल्ट भेट हुनेछ ।

मिसाइल आक्रमणपछि दुवै टोली पहिलोपल्ट क्रिकेट मैदानमा आमनेसामना भएका हुन् । त्यो युद्धमा ७० जना मानिसको मृत्यु भएको थियो । भारतको स्वशासित क्षेत्र कास्मिरको पहलगाममा गत अप्रिल २२ मा सर्वसाधारण मारिएपछि दुई देश युद्धको संघारमा पुगेका हुन् । भारतले त्यो आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित: ३१ भाद्र २०८२ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App