हक्की विश्वकपको पूल ‘डी’ अन्तर्गत भारत इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको छ।
सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता बनाए पनि भारतले दोस्रो हाफमा लगातार तीन गोल खाएपछि हार बेहोरेको हो। इंग्ल्यान्डका निकोलस बान्डुराकले १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि भारतीय कप्तान हरमनप्रीत सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए।
भारतले २४औँ मिनेटमा दिलप्रीत सिंहको गोलमार्फत २-१ को अग्रता बनाएको थियो। पहिलो हाफमा भारतले प्रभावशाली प्रदर्शन गर्दै अग्रता कायम राखे पनि दोस्रो हाफमा भने इंग्ल्यान्डले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो।
इंग्ल्यान्डका स्टुअर्ट रुसमेयरले ३८औँ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि हेनरी क्रफ्टले गोल गरेपछि इंग्ल्यान्ड ३-२ ले अघि बढ्यो। दोस्रो हाफमा भारतले बराबरीका लागि प्रयास गरे पनि इंग्ल्यान्डको रक्षापंक्ति तोड्न सकेन। इंग्ल्यान्डले अन्तिम चरणमा अर्को गोल थप्दै ४-२ को जित सुनिश्चित गर्यो।
जितसँगै इंग्ल्यान्ड पूल ‘डी’ बाट दोस्रो चरणमा प्रवेश गरेको छ। भारतले अब बुधबार पाकिस्तानविरुद्ध हुने आफ्नो अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ। भारतको तीन अंक छ भने पाकिस्तानको एक अंक छ। भारतले पाकिस्तानलाई हराएमा दोस्रो चरणमा पुग्नेछ। भारत बराबरीमा रोकिए पनि वेल्सले इंग्ल्यान्डलाई हराउन नसके भारतको सम्भावना कायम रहनेछ।
यसअघि वेल्स र पाकिस्तानले ३–३ गोलको बराबरी खेलेका थिए। त्यसैले पूल ‘डी’ को अन्तिम चरणमा भारत, पाकिस्तान र वेल्सबीच दोस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा अझ रोचक बनेको छ।
प्रकाशित: २ भाद्र २०८३ ११:२८ मंगलबार



-600x400.jpg)

