भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इंगल्याण्ड भ्रमणका लागि एकदिवसीय टोलीको घोषणा गरेको छ। सार्वजनिक टोलीमा शुभमन गिललाई कप्तान र श्रेयस अय्यरलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
आगामी शृङ्खलालाई सन् २०२७ को एकदिवसीय विश्वकपको तयारीका रूपमा हेरिएको छ। टोलीमा वरिष्ठ खेलाडीहरू विराट कोहली र रोहित शर्मा पनि समावेश छन्। यसअघि नै टी-२० टोलीको घोषणा भइसकेको छ। भारतीय टोलीको इंगल्याण्ड भ्रमण जुलाई १ बाट सुरु हुनेछ। भ्रमणको सुरुवात पाँच खेलको टी-२० शृङ्खलाबाट हुनेछ भने जुलाई १४ देखि तीन खेलको एकदिवसीय शृङ्खला सुरु हुनेछ।
इंगल्याण्ड भ्रमणका लागि भारतीय एकदिवसीय टोलीमा कप्तान गिलसहित रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल (विकेटकीपर), इशान किशन (विकेटकीपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, नितिश कुमार रेड्डी, कुलदीप यादव, कृष्णा प्रदीप, अर्शदीप सिंह र गुरनुर बरार रहेका छन्।
यसैबिच, वरुण चक्रवर्ती आयरल्याण्ड विरुद्धको टी-२० शृङ्खलाबाट बाहिरिएका छन्। बीसीसीआईका अनुसार उनी अहिले पनि बेंगलुरुस्थित सेन्टर अफ एक्सिलेन्स (सीओई) मा पुनर्वास प्रक्रियामा छन्। बोर्डले उनको फिर्ताको निर्णय मेडिकल टोलीको सल्लाहका आधारमा गरिने जनाएको छ।
प्रकाशित: ७ असार २०८३ १४:३९ आइतबार





