१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

मधेस र कोसीको प्रभावशाली प्रदर्शन

तीन टोली मधेस, कोसी र गण्डकी प्रदेशले काठमाडौंमा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हकी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मधेस, कोसी र गण्डकी प्रदेशले प्रभावशाली प्रदर्शन गरेका हुन्। महिलातर्फ खेलमा मधेसले बागमती प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्‍यो। मधेसका लागि खेलको ४२औं मिनेटमा प्रीति दासले गोल गरिन्। यो नै मधेसलाई जित दिलाउन निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेकी प्रीति दास नै प्लेयर अफ द म्याच घोषित भइन्।

पुरुषतर्फ कोसी प्रदेशले बागमती प्रदेशमाथि ७–० को फराकिलो जित हात पार्‍यो। कोसी बागमतीमाथि पूर्ण हाबी भयो। सुदीप चौधरी चम्कँदा ह्याट्रिक पूरा गरेपछि कोसीले उत्कृष्ट नतिजा निकालेको हो। उनले खेलको सातौं, ३८औं र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। लक्ष्मण समरिया र कविराज सन्जेलले समान दुई गोल थपे। लक्ष्मणले ३७औं र ४४औँ मिनेटमा दुई गोल गरे। कविराजले ५०औँ र ५९औँ मिनेटमा दुई गोल थपे। ह्याट्रिकसहित उत्कृष्ट खेल प्रदर्शन गरेका सुदीप चौधरी प्लेयर अफ द म्याच भए।

महिलातर्फ गण्डकी प्रदेशले कोसी प्रदेशलाई ४–० ले पराजित गर्‍यो। गण्डकीका लागि अंकिता अधिकारीले दुई तथा बुढीमाया बल र सीतामाया बलले समान एक गोल गरे। अंकिताले १४औँ र ६०औँ मिनेटमा दुई गोल गरिन्। बुढीले २०औँ मिनेटमा एक गोल गरेकी थिइन्। सीतामायाले ३७औँ मिनेटमा गोल गरिन्। उत्कृष्ट खेल प्रदर्शन गरेकी सीता माया बल प्लेयर अफ द म्याच घोषित भइन्।

प्रकाशित: ८ फाल्गुन २०८२ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App