तेस्रो संस्करणको इलाम गोल्डकपबाट पाहुना टोली मलेसियाको एन–पेनाङ एफसी बाहिरिएको छ। सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबसँग टाइब्रेकरमा पराजित भएसँगै एन–पेनाङ बाहिरिएको हो। जितसँगै मच्छिन्द्र भने सेमिफाइनलमा प्रवेश गरेको छ।
इलामको ठूलो टुँडिखेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा मच्छिन्द्रले ३–२ गोलान्तरले एन–पेनाङलाई हराएको छ। टाइब्रेकरमा मच्छिन्द्रका देवेन्द्र तामाङ, सनिष श्रेष्ठ र मिलन चाम्लिङ राईले गोल गरे। दीपेश गुरुङको प्रहार पेनाङका गोलरक्षकले बचाए। दिवाकर चौधरीको प्रहार बाहिरियो।
एन–पेनाङका पाउल फेनी र ओलाए डाउडीले गोल गरे भने लाहान सुब्बा र निशान लिम्बूको प्रहार मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले बचाए। एउटा प्रहार बाहिरियो।
खेलमा मच्छिन्द्रले पहिलो हाफमा थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न सकेन। एन–पेनाङले दर्जनौं राम्रा अवसरलाई गोल गर्न चुकायो।
मच्छिन्द्र र एन–पेनाङ यसअघि झापा गोल्डकपमा भेट भएका थिए। त्यहाँ पनि मच्छिन्द्रले नै २–१ गोलान्तरले जित हासिल गरेको थियो।
मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद रु ८ हजारसहित ट्रफी पाए । उत्कृष्ट दर्शकका रूपमा ‘फ्यान अफ द म्याच’को पुरस्कार धनमाया राईले पाइन् । उनले नगद २ हजार पुरस्कार प्राप्त गरिन्।
रेडहर्स फुटबल क्लबले आयोजन गरेको प्रतियोगिताको मंगलबार हुने अन्तिम क्वार्टर पाइनलमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल वैशाख १२ मा हुनेछ । फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रकाशित: ७ वैशाख २०८३ २१:०६ सोमबार





