कोही खाडल खन्दैछन्, कोही बाँस टुक्र्याउँदै, किला गाड्दै र नरिवलको डोरीले बला कस्दै। रमिता हेर्न आउने र अह्राई खटाइ गर्नेको हुल पनि बेला-बेला आउँछ।
हरियो घाँसे मैदान भइसकेको इलामको ठुलो टुँडिखेल करिब ७ दिनयता कुनै घरमा बिहे गर्न तयार गर्दै गरेको आँगनझैँ छ। फोटो, भिडियो र सेल्फी खिच्नेहरू पनि आइरहेका छन्।
आउँदो वैशाख ५ मा सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको मैदान तयारी इलामवासीका लागि चाहिँ रहरभन्दा धेरै बाध्यता हो। तर, जब टुँडिखेलमा ट्रकका ट्रक बाँस अनलोड हुन थाल्छ, तब इलाममा दसैँ आउनलागेझैं ‘फुटबल चाड’ आउँछ। इलामको प्रतिष्ठा झल्काउने फुटबल प्रतियोगिता हेरिरहँदा जिल्लावासी बाँसकै प्यारापिटमा रमाउँछन्- स्थायी प्यारापिट वर्षौंदेखि चर्चा र कल्पनामा मात्रै रहिरहेपनि।
यस पटक मैदानसमेत हरियो भइसकेको छ। गत बर्खामै रोपेको दुबो जागेपछि पहिलो पटक इलाम गोल्डकपको तेस्रो संस्करणका खेल हुँदैछन्। विगतमा खेलाडीले धुले मैदानमा संघर्ष गर्नुपरे पनि अहिले मैदानमा दुबो जागिसकेको छ।
‘यस पटक इलामको मैदान खेलाडीका लागि सफ्ट छ,’ आयोजक रेडहर्स क्लबका मनोज बुढाथोकी भन्छन्, ‘स्थायी प्यारापिट नहुँदा वर्षाैंदेखि फुटबलप्रेमीले सास्ती खेप्नुपरिरहेको छ, अब स्थायी प्यारापिट बनाउन सबै इलामवासी जुट्नुपर्छ।’
प्रतियोगितामा आउने दर्शकका लागि अस्थायी प्यारापिट बनाउन र मैदान हरियाली बनाउन यो वर्ष मात्रै करिब २५ लाख रुपैयाँ खर्च भएको अनुमान छ। बर्खामा स्थानीय फुटबल आयोजक क्लबहरूको संयुक्त प्रयासमा दुबो रोपिएको छ भने एक पटक प्यारापिट बनाएपछि त्यसैलाई प्रयोग गरेर एकभन्दा बढी फुटबल प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता छ।
‘मैदानमा पटक-पटक अस्थायी प्यारापिट बनाउन खर्च धेरै लाग्छ,’ हरेक वर्ष महिला फुटबल प्रतियोगिता आयोजना गर्ने क्लब ओएसिसका सचिव रोशन राई भन्छन्, ‘बर्सेनि प्रतियोगिता सञ्चालन गर्नभन्दा मैदान तयार गर्न चाहिँ धेरै खट्नुपर्ने अवस्था छ। अब स्थायी प्यारापिट बनाउनुपर्छ।’
यस पटक टुँडिखेलमा करिब ४ हजार घना बाँस खपत हुनेगरी अस्थायी प्यारापिट बन्दैछ। मञ्च पनि हरेक वर्ष नयाँ बनाउनुपर्ने बाध्यताले खर्च बढ्ने गरेको छ। रेडहर्स फुटबल क्लबका महासचिव प्रकाश घिमिरे भन्छन्, ‘४ हजार घना बाँस खर्चेर हरेक वर्ष प्यारापिट बनाउनु हामी आयोजकको बाध्यता हो। सबै सरोकारवाला र तीनै तहका सरकारले प्रतियोगिता आयोजना गर्ने बेला मात्र होइन, बजेट, योजना र कार्यक्रम बनाउने बेला यो टुँडिखेल सम्झिदिए हुन्थ्यो।’
हुन त ठुलो टुँडिखेललाई रंगशालाका रूपमा विकास गर्ने गरी डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)समेत तयार छ। तर, नेपाली सेना मातहत रहेकाले पनि यसमा थप संरचना विकास गर्न जटिलता उत्पन्न हुने गरेको छ। आयोजक क्लब सदस्य तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकेन्द्रीय सदस्य निरोज खड्गी इलाममा दर्शकको अपार माया पाएको फुटबललाई मैदानमा स्थायी प्यारापिट अभावले खल्लो बनाइरहेको बताउँछन्।
‘बर्सेनि इलाममा सारा देशको ध्यानै आकर्षित गर्ने खालका कम्तीमा दुई फुटबल प्रतियोगिता आयोजना गरिन्छन् तर मैदानमा आउने दर्शकले चाहिँ सास्ती खेप्नुपर्छ,’ उनले भने, ‘अस्थायी प्यारापिट बनाएरै भए पनि १० हजार दर्शक अटाउने ठाउँ त बनाइन्छ तर हरेक वर्षको यो खर्च नास भइरहेको छ।’
तेस्रो इलाम गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, हेटौँडाको चित्लाङ फुटबल क्लब, झापा धुलाबारीको रोलिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, आयोजक रेडहर्स तथा मलेसियाको एन पेनाङ फुटबल क्लब र भारत सिक्किमको जोर्जियन फुटबल क्लब सहभागी हुँदैछन्।
विभिन्न टिमबाट ब्राजिलियन, नाइजेरियन र मलेसियन खेलाडीसमेत आउनेछन्। नेपालका विभिन्न क्लबबाट नेपाली राष्ट्रिय टिमका रोहित चन्द, अन्जन विष्ट, आदित्य शाक्य, डोना थापामगर, मनिष डाँगी, एरोन थापामगरलगायत खेलाडी पनि आउँदैछन्।
वैशाख १२ मा हुने फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछन्। विभिन्न विधागत पुरस्कार वितरण गरिने आयोजकको भनाइ छ। दोस्रो संस्करणको इलाम गोल्डकप उपाधि एनआरटीले जितेको थियो।
प्रकाशित: २५ चैत्र २०८२ ११:४५ बुधबार

