पोल्यान्डकी इगा स्वियाटेकले नेसनल बैंक ओपनको उपाधि जित्दै यस वर्षको पहिलो डब्लुटीए टुर उपाधि आफ्नो नाममा गरेकी छन्।
सातौँ वरीयताकी स्वियाटेकले बिहीबार भएको फाइनलमा दोस्रो वरीयताकी एलेना रिबाकिनालाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरिन्। यो उनको करिअरको २६औँ डब्लुटीए उपाधि हो। स्वियाटेकले खेलको सुरुवातमै रिबाकिनाको सर्भिस तोडिन् र केवल २९ मिनेटमा पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारिन्। दोस्रो सेटमा पनि २–२ को अवस्थामा रिबाकिनाको सर्भिस ब्रेक गर्दै स्वियाटेकले खेलमा नियन्त्रण कायम राखिन्।
कडा सर्भिसका लागि परिचित र टुरमा सबैभन्दा धेरै एस प्रहार गर्ने रिबाकिनाले भने खेलमा आफ्नो लय भेट्टाउन सकिनन्। स्वियाटेकले निरन्तर आक्रामक खेल, कम गल्ती र कोर्टमा उत्कृष्ट गतिका साथ रिबाकिनालाई दबाबमा राखिन्। छ पटककी ग्रान्ड स्लाम विजेता स्वियाटेक नयाँ विश्व वरीयतामा दुई स्थान माथि उक्लिँदै छैटौँ स्थानमा पुग्ने अनुमान गरिएको छ। रिबाकिना भने दोस्रो स्थानमै कायम रहनेछिन्।
यसैबीच, महिला डबल्सको फाइनलमा कातेरिना सिनियाकोभा र शुआई झाङको जोडीले सारा इरानी र निकोल मेलिचार–मार्टिनेजको जोडीलाई ६–३, ६–४ ले हराउँदै उपाधि जित्यो।
प्रकाशित: २९ श्रावण २०८३ ०७:०४ शुक्रबार





