बंगलादेश सरकार र क्रिकेट अधिकारीहरू आगामी आइसिसी टी ट्वाटी विश्वकप २०२६ को आफ्ना खेलहरू भारतबाट सहआयोजक श्रीलंकामा सार्नुपर्ने दृढ अडानमा छन्।
भारत र श्रीलंकाको संयुक्त आयोजना आगामी आइसिसी टी ट्वान्टी विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदै छ तर इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमान निकालिएपछि दुई देशबीच तनाव सुरु भएको छ। त्यसको असर भारतमा तय टी ट्वान्टी विश्वकपमा पनि पर्यो। मुस्ताफिजुर निकालिएको घटनापछि बंगलादेशले आफ्ना खेलाडीको सुरक्षा र राष्ट्रिय सम्मानलाई मुख्य रूपमा अघि सारेको छ। त्यसैले पनि भारतबाट आफ्नो खेल सार्न बंगलादेशले अनुरोध गरिरहेको छ।
बंगलादेशको युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले आफ्नो देश विश्वकपमा सहभागी हुन प्रतिबद्ध रहेको तर खेलाडी, अधिकारी र समर्थकहरूको सुरक्षा सुनिश्चित हुने अवस्थामा मात्र सहभागिता जनाउने स्पष्ट पारेका छन्।
फेब्रुअरीमा सुरु हुने विश्वकप नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) बिच आगामी दिनमा छलफल हुने सम्भावना रहेको बताइएको छ।
यसअघि भएको बैठकमा आइसिसीले प्रतियोगिता सुरु हुन एक महिना मात्र बाँकी रहँदा पुनः तालिका गर्न सम्भव नभएको स्पष्ट गरिसकेको छ। भारतले विगतमा ठूला प्रतियोगिताहरू कुनै सुरक्षा समस्याबिना सफलतापूर्वक आयोजना गरेको इतिहास रहेको आइसिसीको तर्क छ। आइसिसीले बंगलादेशको प्रस्तावलाई ‘एजेन्डाप्रेरित’ भनेको छ।
बंगलादेश सरकारले निरन्तर यो प्रस्ताव अघि बढाएमा विश्व क्रिकेटको उच्च निकाय आइसिसीले बंगलादेशबिना नै विश्वकप अघि बढाउनुपर्ने अवस्था आउन सक्ने संकेत पनि दिएको छ।
यसैबिच बिसिसिआईका अधिकारीहरू मुम्बईमा विभिन्न विषयमा छलफल गर्न बैठक बस्दै छन्। सो बैठकमा बंगलादेशसम्बन्धी विषय उठ्ने वा नउठ्ने भने अझै स्पष्ट छैन। ‘हामीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का निर्देशक, अमिनुल इस्लाम र सबै पक्षसँग बसेर छलफल गर्यौं,’ नजरुलले भने,‘हामीले परिस्थितिबारे कुरा गर्यौं। बंगलादेशले कडा मेहनत गरेर टी ट्वान्टी विश्वकपमा स्थान बनाएको हो। हामी क्रिकेटप्रेमी राष्ट्र हौं र हामी अवश्य यो विश्वकप खेल्न चाहन्छौँ।’
तर उनले देशको गरिमा गिराउन पनि नचाहने स्पष्ट पारेका छन्। ‘राष्ट्रको अपमान, क्रिकेटर, दर्शक र पत्रकारहरूको सुरक्षामा जोखिम वा देशको गरिमा गुमाएर विश्वकप खेल्न चाहँदैनौं। आइसिसीबाट प्राप्त पत्र पढ्यौं,’ उनले भने,‘त्यो पत्रअनुसार बंगलादेशी क्रिकेटरप्रति भारतमा विकसित गम्भीर सुरक्षा अवस्थाबारे आइसिसीले पूर्ण रूपमा नबुझेको देखिन्छ।’
बंगलादेशी बलर मुस्ताफिजुरलाई आइपिएल टोली कोलकाता नाइट राइडर्सबाट हटाइएपछि विवाद चर्किएको हो। त्यसलगत्तै बिसिबीले कोलकाता र मुम्बईमा तय गरिएका समूहचरणका सबै खेलहरू श्रीलंकामा सार्न आइसिसीसँग औपचारिक अनुरोध गरेको थियो। त्यसपछि बंगलादेशले थप विस्तृत चिन्ताहरू उल्लेख गर्दै दोस्रो पत्र पनि पठाएको छ।
आइसिसीले सुरक्षा उपायहरूमा सहकार्य गर्न इच्छुक रहेको जनाए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भारतसँग क्षमता रहेको उल्लेख गर्दै तालिका परिवर्तन गर्न अस्वीकार्दै आएको छ।
क्रिकेट समुदायभित्रबाट फरकफरक मत व्यक्त भइरहेको छ। बंगलादेशका पूर्वओपनर तमिम इकबालले खेलको दीर्घकालीन हितलाई ध्यानमा राख्दै संयम र संवादको पक्षमा बोलेका छन्।
‘बिसिबीसँग म संलग्न नभएकाले अरू सामान्य मानिसझैं मिडियाबाट नै जानकारी पाइरहेको छु,’ तमिमले भने ,‘यी विषय सम्हालिरहेका व्यक्तिहरूसँग धेरै बढी जानकारी अवश्य हुन्छ। त्यसकारण म अचानक टिप्पणी गर्न उपयुक्त ठान्दिनँ तर कुनै निर्णय लिनुअघि बंगलादेश क्रिकेटको हित, भविष्य र सबै पक्षलाई ध्यानमा राखिनुपर्छ। संवादबाट समाधान निस्कनुभन्दा राम्रो केही हुँदैन।’
तमिमले यो विषय संवेदनशील भएको भन्दै सार्वजनिक टिप्पणी गर्नुअघि बिसिबीले आन्तरिक रूपमा सबै पक्षमा छलफल गर्नुपर्ने बताए। साथै आइसिसीबाट नै बिसिबीको अधिकांश आर्थिक स्रोत आउने भएकाले निर्णय बंगलादेश क्रिकेटको हितमा आधारित हुनुपर्ने उनको भनाइ छ।
‘यो संवेदनशील विषय भएकाले सार्वजनिक टिप्पणी गर्नुअघि बोर्डभित्रै छलफल गरौं,’ उनले भने, ‘किनकि सार्वजनिक रूपमा बोलेपछि, त्यो सही होस् वा गलत, त्यसबाट पछि हट्न गाह्रो हुन्छ। बंगलादेश क्रिकेटको भविष्य सबैभन्दा माथि हो।’
उनले ९० देखि ९५ प्रतिशत वित्तीय स्रोत आइसिसीबाट आउने भएकाले निर्णय त्यही अनुसार हुनुपर्ने उल्लेख गरेका छन्। यो अवस्थाले खेल र कूटनीतिबिचको नाजुक सम्बन्धलाई उजागर गर्ने पनि उल्लेख गरेका छन्। जहाँ सबै पक्ष मिलेर समाधान खोज्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: २६ पुस २०८२ १३:५६ शनिबार

