पोर्चुगल राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक जर्ज जिससले अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीका लागि ढोका खुला रहने बताएका छन्।
शुक्रबार आफ्नो औपचारिक परिचय कार्यक्रममा बोल्दै जिससले रोनाल्डो पोर्चुगिज फुटबलका सबैभन्दा ठूलो प्रतीक भएकाले उनी राष्ट्रिय टोलीका लागि कहिल्यै समस्या नबन्ने विश्वास व्यक्त गरे।
रोनाल्डोले यसअघि २०२६ को फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने संकेत दिएका थिए। तर उक्त प्रतियोगिताको अन्तिम–१६ मा स्पेनसँग पराजित भएपछि उनले राष्ट्रिय टोलीबाट खेलिरहने वा संन्यास लिने विषयमा कुनै अन्तिम निर्णय गरेनन्।
यही सन्दर्भमा प्रतिक्रिया दिँदै ७१ वर्षीय जिससले भने, ‘जबसम्म रोनाल्डो खेल्छन् राष्ट्रिय टोलीका लागि छनोट हुन सक्ने अवस्थामा छन्, म उनलाई टोलीमा समावेश गर्नेछु। अन्तिम निर्णय सधैं टोलीको आवश्यकता र प्रदर्शनका आधारमा हुनेछ।’
जिससले आफूले हालसम्म रोनाल्डोसँग प्रत्यक्ष रूपमा कुरा नगरेको जानकारी दिँदै निकट भविष्यमा उनीसँग राष्ट्रिय टोली र व्यक्तिगत योजनाबारे विस्तृत छलफल गर्ने बताए। उनले रोनाल्डोको व्यावसायिकता र टोलीप्रतिको समर्पणको खुलेर प्रशंसा पनि गरे।
‘मैले अहिलेसम्म क्रिससँग कुरा गरेको छैन, तर हामी अवश्य भेट्नेछौं। क्रिस कहिल्यै पनि राष्ट्रिय टोलीका लागि समस्या भएका छैनन् र हुने पनि छैनन्। उनी पोर्चुगिज फुटबलको प्रतीक हुन्। उनले देशका लागि बनाएको इतिहास सधैं स्मरणीय रहनेछ’, जिससले भने।
उनले गत सिजन साउदी प्रो लिग क्लब अल–नासरमा रोनाल्डोसँग काम गरेको अनुभव पनि साझा गरे। उनका अनुसार रोनाल्डोसँग काम गर्न निकै सहज थियो र उनी अझै पनि उच्च स्तरमा प्रतिस्पर्धा गर्ने मानसिकता राख्छन्।
‘गत वर्ष उहाँसँग काम गर्न पाउँदा निकै खुसी लागेको थियो। उहाँसँग काम गर्न सजिलो छ। हामी दुवैबीच उहाँको भविष्यबारे पनि कुरा हुनेछ’, उनले भने।
यस्तै, उनले रोनाल्डोले आफूलाई अल–नासरमै आफ्नो व्यावसायिक करियर टुंग्याउने इच्छा बारम्बार व्यक्त गरेका बताए।
‘मलाई थाहा छ, रोनाल्डो अल–नासरमै खेलिरहन चाहन्छन्। मैले उहाँसँग एक वर्ष बिताएँ र उहाँले सधैं भन्नुहुन्थ्यो, ‘म अल–नासरमै आफ्नो करियर समाप्त गर्न चाहन्छु’।
पोर्चुगल फुटबल महासंघले हालै जिससलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनले सन् २०३० सम्म टोलीको जिम्मेवारी सम्हाल्नेछन्। विशेष संयोग के छ भने सन् २०३० को फिफा विश्वकप पोर्चुगलले स्पेन र मोरक्कोसँग संयुक्त रूपमा आयोजना गर्नेछ। त्यस प्रतियोगितासम्म टोलीलाई सफल बनाउने जिम्मेवारी पनि जिससमाथि रहनेछ।
अब सबैको ध्यान रोनाल्डोको निर्णयतर्फ केन्द्रित भएको छ। उनी राष्ट्रिय टोलीमा निरन्तर रहने वा अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिने भन्ने विषयमा अन्तिम निर्णय आउन बाँकी रहे पनि नयाँ प्रशिक्षक जिससले भने रोनाल्डो सक्षम र फिट रहेसम्म पोर्चुगलको राष्ट्रिय टोलीमा उनको स्थान सुरक्षित रहने बताए।
प्रकाशित: २७ असार २०८३ १७:१० शनिबार





