१९ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेमा ढुक्क भएँ: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेमा अब कुनै अन्योल नरहेको बताएका छन्।

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे भएको बैठकपछि मुख्यमन्त्री शाहीले बैठकले प्रतियोगिता आयोजना हुने प्रत्याभूति गरेको बताए। उनले प्रतियोगिता सम्पन्न भएपछि कर्णाली प्रदेश खेलकुद आयोजनाका लागि सक्षम छ भन्ने सन्देश जाने उल्लेख गरे।

‘आजको बैठकले १०औँ राष्ट्रिय खेलकुद हुन्छ भन्ने प्रत्याभूत भएको छ। खेलकुद आयोजनापछि कर्णाली प्रदेश सक्षम छ भन्ने सन्देश जानेछ,’ उनले भने।

उनका अनुसार कर्णाली प्रदेशका अधिकांश जिल्लामा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण भएका छन्। बाँकी पूर्वाधार तथा तयारीको अवस्थाबारे खेलकुद मन्त्रालयको प्राविधिक टोलीले अध्ययन गरिरहेको उनले जानकारी दिए।

यसैबीच, खेल संघका प्रतिनिधिहरूले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सुरु हुनेमा आशंका व्यक्त गरेका थिए। उनीहरूले प्रतियोगिताको तयारी र आयोजना हुने मितिबारे देखिएको अन्योल अन्त्य गर्नुपर्ने बताएका थिए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले भने प्रतियोगिता समयमै हुने विषयमा शंका नगर्न आग्रह गरेका छन्। उनले विगतमा प्रतियोगिता सर्ने हो कि भन्ने गुनासो सुनिँदै आए पनि अहिलेको तयारीलाई नयाँ सुरुवातका रूपमा लिन आग्रह गरे।

‘यहाँ समयमा खेल हुन्छ, हुँदैन या फेरि सर्छ कि भन्ने गुनासो सुनिन्छ। तर, हामीले यसलाई एउटा फ्रेस स्टार्ट ठानेका छौँ। त्यसैले ढुक्क हुन अनुरोध गर्दछु,’ मेहताले भने।

उनले प्रतियोगिता आयोजना गर्न सम्बन्धित सबै पक्षबीच समन्वय र आवश्यक तयारी अघि बढिरहेको संकेत गर्दै खेलाडी, खेल संघ तथा सरोकारवालालाई विश्वस्त हुन आग्रह गरेका छन्।

प्रकाशित: १८ आश्विन २०८३ १८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App