हिमालयन क्विन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ।
विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रूपमा हुने हिमालयन क्विन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ।
आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ। त्यसै अन्तर्गत नेपालको एक मात्र प्रतियोगिता हामी आयोजना गर्दै छौं। चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवका रूपमा सञ्चालन हुने एकदिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागी हुनेछन्।’ बिहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन्।
नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाका लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरेका
छन्।
श्रेष्ठले भनिन्, ‘नेपालमा महिला चेसलाई उत्सवका रूपमा मनाउने प्रयासमा मूर्त रूप दिन हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेका छौं। हामी क्विन्स ग्याम्बिटलाई भव्य बनाउनेछौं।’
गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जुन संख्या नेपाली महिला चेसकै कीर्तिमान हो। यसपालि शीर्ष आठसँगै यु–७, यु १०, यु १३ यु १६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइनेछ। उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसर अवार्ड्स पनि प्रदान गरिनेछ।
शनिबार (१४ मार्च) मा दोस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको देशकै पहिलो चेस एकेडेमीले ब्लिट्ज, ¥यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।
एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै हलमा फिडे मास्टर रिजेन्द्र राजभाण्डारी, इन्टरनेसनल मास्टर अतनु लहिरी (कमनवेल्थ चेस च्याम्पियन), याइशाष यासिर खम्बुसहितले चार वर्षदेखिका बालबालिकासहितलाई नियमित प्रशिक्षण दिँदै आएको छ । उसले इभेन्ट म्यानेजमेन्टसँगै अनलाइन क्लास पनि सञ्चालन गरिरहेको छ।
प्रकाशित: २९ फाल्गुन २०८२ ०७:३९ शुक्रबार





