बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
युनियन बर्लिनविरुद्ध गएराति भएको खेलमा पेनाल्टीमार्फत गोल गर्दै केनले ९८औँ खेलमै बुन्डेसलिगामा १०० गोल पूरा गरेका हुन्। यसअघि डाइटर मुलरले १२९ खेलमा बनाएको कीर्तिमान केनले तोडेका हुन्।
केनले खेलको ३९औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरे। दोस्रो हाफमा उनले थप एक गोल गरेपछि बुन्डेसलिगामा उनको गोल संख्या १०१ पुगेको छ। बायर्नले उक्त खेल ७-० ले जित्दा माइकल ओलिसेले ह्याट्रिक गरे।
‘बुन्डेसलिगामा १०० गोल पूरा गर्न पाउँदा निकै गर्व लागेको छ। फरक लिगमा पनि यो उपलब्धि हासिल गर्नु मेरा लागि विशेष हो,’ केनले भने।
सन् २०२३ मा टोटनह्यामबाट बायर्न पुगेका केनले जर्मनीमा पहिलो सिजन ३६, दोस्रो सिजन २६ र गत सिजन ३५ गोल गरेका थिए। उनी जर्मनी आएयता लगातार तीन सिजन बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता बनेका छन्।
केनले बायर्नका लागि सबै प्रतियोगितामा १५४ खेलबाट १५१ गोल गरिसकेका छन्। यसअघि उनले युरोपका शीर्ष पाँच लिगमा २१औँ शताब्दीमा कुनै क्लबका लागि सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए।
इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता केनले यसै वर्ष राष्ट्रिय टोलीबाट आफ्नो गोल संख्या ७० पुर्याएका छन्। उनी यस वर्षको बालोन डी’ओरका प्रमुख दाबेदारमध्ये एकका रूपमा रहेका छन्। बालोन डी’ओरको घोषणा अक्टोबर २६ मा हुनेछ।
प्रकाशित: ३ आश्विन २०८३ ०७:३० शनिबार


-600x400.jpg)


