१ असार २०८३ सोमबार
image/svg+xml
खेल

समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्ट अगाडि

समूह चरणको दोस्रो बहुप्रतीक्षित खेलमा सोमबार मध्यराति इजिप्टले बेल्जियमको सामना गर्नेछ। सियाटल सहरमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ।

फिफा वरीयतामा नवौं स्थानमा रहेको बेल्जियमलाई उपाधि दाबेदारको लिस्टबाट हटाउन सकिँदैन। उता मोहम्मद सालाहबाट प्रेरित इजिप्ट भने २९औं स्थानमा छ। अहिले टोली आफ्नो चौथो विश्वकप खेलिरहेको छ।

गत संस्करण बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो। यसपालि रुदी गार्सियाको बेल्जियमसँग सम्भवतः गोल्डेन जेनेरेसनबाट नतिजा निकाल्ने अन्तिम अवसर छ। सन् २०१८ मा बेल्जियम कागजमा प्रतियोगिताकै बलियो टोली थियो। इडन हाजार्ड, केभिन डी ब्र्युएना, रोमेलु लुकाकु, टिबो कोर्टुवा सम्मिलित गोल्डेन जेनेरेसन त्यति बेला च्याम्पियन फ्रान्ससँग निराश बन्यो। गोल्डेन जेनेरेसनको रबाफ ८ वर्षको अन्तरालमा घट्दै गएको छ।

यसपालि पनि टोलीले केही उपलब्धि हासिल नगर्ने हो भने एउटा सुनौलो पुस्ता खेर जानेछ। यद्यपि टोलीमा अहिले ४–५ खेलाडी मात्र बाँकी छन्। यस्तोमा बेल्जियमलाई ‘एभरेज’ टोली भन्दा फरक पर्दैन।

गत संस्करण बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। त्यसपछि क्रोएसिया र मोरक्कोविरुद्ध बेल्जियमले गोल गर्न सकेन। जसका कारण टोलीले चार अंक मात्र जोड्न सक्यो र समूहमा तेस्रो भयो। बेल्जियमका लागि त्यो ‘अर्ली एक्जिट’ एकदमै पीडादायी थियो। किनभने क्रोएसिया भेट्रान स्क्वाड लिएर कतार पुगेको थियो। त्यस्तै मोरक्कोले १९९८ यता विश्वकपमा कुनै पनि खेल जितेको थिएन।

रसिया विश्वकपमा सेमिफाइनल पुग्नुबाहेक विश्व प्रख्यात खेलाडीहरूले भरिएको बेल्जियम युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म मात्र पुग्न सफल भयो। यसपालि विश्वकप छनोट प्रतियोगितामा बेल्जियमले सम्भावित २४ मा १८ अंक जोड्दै समूह विजेताको हैसियतमा अमेरिकाको टिकट काटेको हो। यसबिच टोलीले २९ गोल गर्दा ७ गोल खायो। विश्वकपमा छनोट भइसकेपछि बेल्जियमले चार मैत्रीपूर्ण खेल खेल्यो। चारमध्ये तीनमा टोलीले विजय हासिल गर्‍यो। बेल्जियमसँग हार्ने टोलीमा थिए, अमेरिका, क्रोएसिया र ट्युनिसिया। यी चार खेलमा टोलीले १३ गोल गर्दा मात्र तीन गोल खाएको थियो।

इजिप्ट कतार विश्वकपमा छनोट हुन सकेको थिएन। रसिया विश्वकपमा टोली समूहको पुछारमा रहँदै बाहिरिएको थियो।  जति बेला इजिप्ट तीनवटै विपक्षी (उरुग्वे, रसिया र साउदी अरेबिया)सँग पराजित भएको थियो। यसपालि छनोट प्रतियोगिता इजिप्टका लागि सम्झनलायक रह्यो। कुल २६ अंक जोडेको इजिप्टले एक खेल पनि हारेन।

गत वर्ष अफ्रिकन कप अफ नेसन्समा इजिप्टले सेमिफाइनलसम्मको यात्रा गर्‍यो। महादेशीय प्रतियोगितापछि होस्सम हस्सनको नेतृत्वमा रहेको इजिप्टले पाँच खेल खेलेको छ। जसमध्ये टोलीले दुईमा मात्र जित निकालेको छ। इजिप्ट र बेल्जियम पाँचौंपटक आमने–सामने हुन लागेका हुन्। पाँचमध्ये तीन खेलमा नतिजा इजिप्टको पक्षमा गएको छ। पछिल्लो भेट नोभेम्बर २०२२ मा भएको थियो। जतिबेला इजिप्ट २–१ ले विजयी भएको थियो।

अनुभवी गोलकिपर कोटुवा पहिलो रोजाइबाटै खेल्ने अपेक्षा गर्न सकिन्छ। उनलाई सेन्टरब्याक आर्थर थिएट र नाथन न्गोयले साथ दिने अनुमान गरिएको छ। एस्टन भिल्लामा सानदार सिजन बिताएका योरी टिलिमन्स मिडफिल्डमा देखिनेछन्। उनलाई क्लब सहकर्मी अमादु ओनानाले साथ दिनेछन्। अट्याकिङ मिडफिल्डरमा नापोलीबाट राम्रो सिजन नरहे पनि केभिन डी ब्रुयनाको विकल्प छैन। उनलाई जेरेमी डोकु र लियान्ड्रो ट्रोसाडले फ्ल्यान्कमा साथ दिनेछन्। नम्बर ९ रोलमा लुकाकुले पहिलो रोजाइबाट खेल्ने अनुमान गर्न सकिन्छ। सिजनको अन्त्यतिर ह्याम्स्ट्रिङ इन्जुरीबाट सताइएका इजिप्टियन किङ सालाह पूर्ण रुपमा फिट छैनन्।

त्यसैले उनलाई मैदानमा ट्राजेकेट, ओमार मारमाउस र जिजोजस्ता फरवार्डहरू आवश्यक पर्नेछ। जसले उनका लागि दौडिनेछन्। सेन्टरब्याक जोडीमा यासिर इब्राहिम र र्‍यामी राबिया हुन सक्छन्। अनि गोलकिपरमा मोहम्मद एल शेनावीको सम्भावना बढी छ। समूह ‘जी’ को अर्को खेलमा इरानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार मंगलबार बिहान ६ः४५ बजे हुनेछ।

प्रकाशित: १ असार २०८३ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App