१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

समूह ‘डी’: अमेरिका र अस्ट्रेलिया आमने-सामने हुँदा टर्कीले पाराग्वेको सामना गर्ने

फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’ मा  दोस्रो चरणका खेलहरू शुक्रबार रातिदेखि सुरु हुँदैछन्। शुक्रबार मध्यराति अमेरिकाले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।  

अर्को खेलमा पाराग्वे र टर्की आमनेसामने हुनेछन्। यो खेलमा दुवै टोली दबाबमा रहनेछन्, किनभने हारले दुवैको विश्वकप यात्रा संकटमा पर्नेछ।

अमेरिका भर्सेस अस्ट्रेलिया

पाराग्वेविरुद्ध अमेरिकाको जित प्रभावशाली रह्यो। प्रतियोगिताको पूर्वसन्ध्यामा माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि विभिन्न प्रश्न उठिरहेका थिए। अमेरिकाले घरेलु मैदानमा अपेक्षाअनुसार खेल्न सक्ला कि नसक्ला भन्ने चर्चा चलिरहेकै थियो। तर, लस एन्जलसमा प्राप्त जितले अमेरिकी टोलीप्रति अपेक्षा उल्लेखनीय रूपमा बढाएको छ। अब चर्चा टोली कति टाढासम्म पुग्न सक्छ भन्ने दिशातर्फ मोडिएको छ।

खेलको पहिलो ह्विसलसँगै अमेरिका निकै शार्प र आत्मविश्वासी देखिएको थियो। टोलीले निरन्तर पाराग्वेको रक्षापंक्तिमाथि दबाब सिर्जना गरिरहेको थियो। जब–जब बल फोलारिन बालोगुनसम्म पुग्थ्यो, अमेरिका हरेकपटक खतरनाक देखिन्थ्यो। रक्षापंक्तिमा पनि अमेरिका मजबुत देखियो।

स्ट्राइकर फोलारिन बालोगुनले सबैको ध्यान आफूतर्फ ताने। ४–१ को जितमा बालोगुनले दुई गोल गरे।

अस्ट्रेलियाले पनि अपेक्षाभन्दा माथिको प्रदर्शन गर्‍यो। डार्क हर्सका रूपमा हेरिएको टर्कीविरुद्ध २–० को जित वास्तवमै आश्चर्यजनक थियो। टोनी पोपोभिचको नेतृत्वमा रहेको अस्ट्रेलियाले पूरा समय ‘डिफेन्सिभ अप्रोच’ अपनाएको थियो। टोलीको बल पोजेसन मात्र २८ प्रतिशत थियो।

टर्कीले अस्ट्रेलियाको पोस्टमा ३० वटा सट्स अटेम्प्ट गरेको थियो। तर, अस्ट्रेलिया खेलभरि अनुशासित रह्यो। पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका गोलकिपर प्याट्रिक बीचले आठ सट्स अन टार्गेटलाई विफल पारिदिए। अन्ततः नेस्टोरी इरानकुन्डा र कोनर मेटकाफको गोलमा अस्ट्रेलिया विजयी भयो।

सकरुजले आत्मविश्वासी अमेरिकाविरुद्ध अर्को कठिन चुनौती सामना गर्नेछ। अमेरिकाले पछिल्ला दुई भेटमा अस्ट्रेलियालाई पराजित गरेको छ। पछिल्लोपटक अमेरिकाले अक्टोबर २०२५ मा २–१ को जित हासिल गरेको थियो।

टर्की भर्सेस पाराग्वे

शनिबार बिहान नेपाली समयअनुसार ८:४५ बजे सान फ्रान्सिस्कोमा टर्की र पाराग्वे दुवै अत्यधिक दबाबमा हुनेछन्। नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुवै टोलीका लागि जितको विकल्प छैन।

टर्की बलियो लय र उच्च अपेक्षासहित अमेरिका पुगेको थियो। युरोपियन च्याम्पियनसिप २०२४ मा प्रभावशाली प्रदर्शन गरेको टर्की यस विश्वकपमा हेर्नलायक टोलीमध्ये एक मानिएको थियो। पोजेसनमा दबदबा कायम गरे पनि अन्त्यमा आफूभन्दा कमजोर फिफा वरीयतामा रहेको अस्ट्रेलियासँग हार बेहोर्नुपर्दा भिन्सेन्जो मोन्टेलाको टोली निराश बनेको छ। दुई दर्जनभन्दा बढी प्रयास गर्दा पनि गोल गर्न नसक्दा ठूलो प्रतियोगितामा टर्की दबाब झेल्न सक्दैन भन्ने चर्चा हुन थालेको छ।

टर्कीले समूहको अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ। निश्चित रूपमा त्यो खेलमा अमेरिका फेभरेट रहनेछ। त्यसैले पनि टर्कीका लागि पाराग्वेविरुद्ध तीन अंक अत्यावश्यक बनेको छ।

गुस्ताभो अल्फारोको टोलीले ‘डिफेन्सिभ अर्गनाइजेसन’ र ‘कन्सिस्टेन्सी’ को बलमा छनोट प्रतियोगितामा सफलता हासिल गरेको थियो। यसक्रममा टोलीले ब्राजिल र अर्जेन्टिनाजस्ता ठूला टोलीलाई पराजित गरेको थियो। अमेरिकाविरुद्धको हार बिर्सनलायक रहे पनि टर्कीविरुद्ध पाराग्वेले आफ्नो छनोट यात्रालाई प्रेरणाको स्रोतका रूपमा लिनेछ।

प्रकाशित: ५ असार २०८३ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App