१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

समूह ‘ए’ : जित्नैपर्ने दबाबमा चेक रिपब्लिक र दक्षिण अफ्रिका

अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

चेक रिपब्लिक र दक्षिण अफ्रिका दुवैले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए। बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे यी दुई टोली एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्।

बफाना बफानालाई उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले साउथ अफ्रिकालाई २–० ले पराजित गरेको थियो। सात घण्टापछि दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्‍यो।

युइएफए छनोटको प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै चेक रिपब्लिकले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। २००६ को जर्मनी विश्वकपमा समूह चरणबाट बाहिरिएको चेक रिपब्लिक (चेकिया) स्वतन्त्र राष्ट्र बनेयता दोस्रो पटक विश्व फुटबलको महाकुम्भमा सहभागिता जनाइरहेको छ।

यसपटक टोलीले जसरी पनि नकआउट चरण पुग्ने लक्ष्य बोकेको छ। पहिलो खेलमा टोलीले लक्ष्यअनुसार सुरुआत गरेको थियो। मिरोस्लाभ कौबेकको नेतृत्वमा रहेको टोलीले कप्तान लाडिस्लाभ क्रेज्कीको गोलमार्फत दक्षिण कोरियाविरुद्ध ५९औँ मिनेटमा अग्रता लिएको थियो। तर अन्ततः जित कोरियाको पक्षमा गयो। यसबीच मिडफिल्डर थोमस सौसेकको गोलले अफसाइडका कारण मान्यता पाउन सकेन।

हारसँगै चेकियाको अपराजित यात्रा सातौँ खेलमा आएर टुंगिएको छ।

यो खेलअघि टोलीले निर्धारित ९० मिनेटभित्र चार खेल जितेको थियो। बाँकी दुई खेलमा चेकिया पेनाल्टी सुटआउटमा भाग्यशाली रह्यो। पछिल्ला चार खेलमा टोली क्लिनसिट राख्न असफल भएको थियो। कोरियाविरुद्ध पनि त्यही कथा दोहोरियो।

बिहीबार दक्षिण अफ्रिकालाई हराउन सके चेकियाको आशा जीवितै रहनेछ। टोलीले समूहको शीर्ष दुई स्थानका लागि आफ्नो दाबेदारी कायम राख्नेछ। कम्तीमा उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’ को बाटो खुल्नेछ।

यी दुई टोली अहिलेसम्म एकपटक मात्रै अन्तर्राष्ट्रिय मञ्चमा आमनेसामने भएका छन्। सन् १९९७ को फिफा कन्फेडेरेसन कपमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो।

दक्षिण अफ्रिकाको यो चौथो विश्वकप हो। सन् २०१० मा प्रतियोगिताको आयोजक बनेको टोली त्यसयता पहिलो पटक सहभागिता जनाइरहेको छ। १६ वर्षअघि पनि टोलीले उद्घाटन खेलमा मेक्सिकोसँग खेलेको थियो। त्यतिबेला टोलीले मेक्सिकोसँग १–१ को बराबरी खेलेको थियो।

यसपटकको कथा फरक रह्यो। तीन रातो कार्ड देखाइएको खेलमा दक्षिण अफ्रिका सह–आयोजकसामु निरीह बन्यो।

मिडफिल्डरद्वय स्फेफेलो सिथोले र थेम्बा ज्वाने रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए। इन्जुरी समयमा मेक्सिकोका रक्षक सेजार मोन्टेसलाई पनि रातो कार्ड देखाइएको थियो।

मुख्य प्रशिक्षक ह्युगो ब्रुजका लागि चिन्ताको विषय यी खेलाडीको विकल्प खोज्नु मात्र होइन, जितविहीन यात्रामा ब्रेक लगाउनु पनि हो। टोलीले पाँच खेल बितिसक्दा पनि जित निकाल्न सकेको छैन। टोली जब–जब पराजित भएको छ, सबै खेलमा दुई गोल खाएको छ।

चेकियाविरुद्ध दक्षिण अफ्रिकालाई एउटा कुराले ‘मोटिभेट’ गरेको छ। त्यो हो, विश्वकपमा दक्षिण अफ्रिकाले युरोपियन टोलीसँग भएको पछिल्लो भेटमा जित निकालेको इतिहास। सन् २०२० मा टोलीले फ्रान्सलाई २–१ ले हराएको थियो।

समूह ‘ए’ को अर्को खेलमा शुक्रबार बिहान मेक्सिको र दक्षिण कोरियाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ। दुवै टोली नकआउट चरण पुग्ने पहिलो टोली बन्ने दाउमा हुनेछन्।

प्रकाशित: ४ असार २०८३ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App