२८ असार २०८३ आइतबार
image/svg+xml
खेल

अल्ट्रा धाविका सुनमाया बुढालाई सरकारको सम्मान

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गरेका छन्।  

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सम्मानपत्र र मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गरेका हुन्।

सो अवसरमा मन्त्री पोखरेलले विश्वस्तरीय खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेका सफलताले नेपालको पहिचान र गौरव बढाएको बताए। उनले खेलाडीहरूको सफलताले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

शिक्षामन्त्रीबाट सम्मान ग्रहण गरेपछि अल्ट्रा धाविका बुढाले यस सम्मानले आफूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न थप हौसला र ऊर्जा प्रदान गरेको बताइन्।

जुम्लाको पातारासी गाउँपालिकाकी अल्ट्रा धाविका बुढाले हालै इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी थिइन्।  

इटालीको कोर्टिना डी’आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा उहाँले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन्। 

प्रकाशित: २५ असार २०८३ २०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App