९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

आदित्य र प्रिन्सलाई स्वर्ण

बहुउद्देश्यीय मार्सल आर्ट्रस  केन्द्र (एमएमएसी) का प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन्।

नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा शनिबार भएको पुरुष २६ केजीमुनि प्रिन्सले बाल विकास जुडो डोजोका आनाश महतरा र ३५ केजीमुनि आदित्यले एमएमएसीका सुवास विकलाई फाइनलमा हराउँदै स्वर्ण चुमे।

पुरुष ४६ केजीमुनि एमएमएसीका सदिन तामाङले बाल विकासका विनोद नेपाली, ५० केजीमुनि पामका लाक्पा टासी शेर्पाले दाङका अमृत बुढामगर र ६१ केजीमुनि पेल्खिल जुडो क्लब भुटानका निखिल समलले भुटानकै गेलुफु जुडो क्लब टासी दोर्जीलाई हराउँदै स्वर्ण पदक आफ्नो बनाए। यो प्रतियोगिता बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भइरहेको छ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ६१ केजीमाथि बंगलादेश क्रिरा शिखा प्रोतिष्ठानका विजोय उषाचिङ मार्माले पेल्खिलका जिग्मे साम्तेन दोर्जीलाई हराउँदै स्वर्ण जिते। प्रतियोगिताको महिला २८ केजीमुनि एमएमएसीकी राधिकाकुमारी चौधरीले पामकी स्मृति विक, ४५ केजीमुनि पामकी समिता नेपालीले एमएमएसीकी जेनिशा वाइबा र ४१ केजीमुनि एमएमएसीकी रेनिशा वाइबाले गेलेफुकी दाम्चोइ दोर्जी वाङमोलाई हराउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाए। महिलाकै ४९ केजीमुनि एमएमएसीकी प्रविना गौतमले चेतना सदनकी सन्जिता कुमाल, २२ केजीमुनि एमएमएसीकी साम्याङ तामाङले नागर्जुन भ्याली एकेडेमीकी डेनिशा दोङलाई पराजित गर्दै शीर्ष स्थानमा रहे।

महिलामा ५३ केजीमुनि बंगलादेश क्रिराकी अजिजा अल्या लियोनले एमएमएसीकी श्रष्टा नापितलाई। विभिन्न ३५ स्पर्धा समावेश प्रतियोगिताको अन्तिम दिन आइतबार १५ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: ८ चैत्र २०८२ ०६:४७ आइतबार