३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

घानाका थोमस पार्टेले विश्वकपको पहिलो खेल गुमाउने

घानाका मिडफिल्डर थोमस पार्टेलाई क्यानडाले भिसा आवेदन अस्वीकार गरेपछि २०२६ फिफा विश्वकपमा घानाको उद्घाटन खेल खेल्न नपाउने भएका छन्।  

फिफाले शुक्रबार जारी गरेको विज्ञप्तिमा ३२ वर्षीय पार्टेले रोड आइल्याण्डको स्मिथफिल्डस्थित घानाको आधार शिविरबाट टोरन्टो पुग्न नसक्ने जनाएको छ।  

फिफाका अनुसार क्यानडा सरकारले पार्टेको भिसा आवेदन अस्वीकार गरेको हो।  फिफाले आयोजक राष्ट्रहरूको अध्यागमन प्रक्रियामा आफ्नो  भूमिका नहुने स्पष्ट पारेको छ। फिफाले आयोजक देशहरूले कसलाई प्रवेश अनुमति दिने भन्ने अन्तिम निर्णय गर्ने जनाएको छ।  

अध्यागमन, शरणार्थी र नागरिकता क्यानडा  (आइआरसिसि) ले जारी गरेको वक्तव्यमा क्यानडा प्रवेश गर्न चाहने प्रत्येक व्यक्तिको आवेदन उपलब्ध तथ्य र लागू कानुनका आधारमा व्यक्तिगत रूपमा मूल्याङ्कन गरिने बताएको छ। 

फिफा २०२६ को सहआयोजक राष्ट्र क्यानडाले सुरक्षा र अध्यागमन कानुनको पालनामा  प्राथमिकता रहने जनाएको छ। ‘क्यानडा २०२६ फिफा विश्वकपको आयोजक देश भएकोमा गर्व गर्दछ र क्यानेडियनहरूको सुरक्षा कायम राख्दै सफल कार्यक्रमलाई सहज बनाउन काम गरिरहेको छ,’ आइआर सिसिले विज्ञप्तिमा भनेको छ।  

भिसा अस्वीकृतिपछि पार्टे पुनः रोड आइल्याण्डस्थित घानाको टोली शिविरमा फर्किएका छन्। उनी जुन २३ मा म्यासाचुसेट्सको फक्सबरोमा हुने घाना र इङ्गल्याण्डसँगको खेल खेल्ने छन्। घानाले जुन २७ मा फिलाडेल्फियामा क्रोएसिया विरुद्ध समूह खेल खेल्ने छ।  

पार्टे हाल बेलायतमा बलात्कारसम्बन्धी विभिन्न आरोपमा अदालतको सुनुवाइको पर्खाइमा छन्। ती आरोपहरू उनले सन् २०२० देखि २०२५ सम्म इङ्लिस क्लब आर्सनलमा खेल्दा भएको घटनासँग सम्बन्धित छन्।  पार्टेले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका छन्।  

यसैगरी अर्को विश्वकप खेलाडी, मोरक्कोका डिफेन्डर अच्राफ हाकिमी पनि पेरिसमा यौन दुर्व्यवहारसम्बन्धी आरोपमा मुछिएका छन्।  

प्रकाशित: ३० जेष्ठ २०८३ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App