चार खेलाडीले त्रियोग हाई स्कुलको आयोजनामा सुरु भएको पाँचौं त्रियोग अन्तरस्कुल चेस प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन्।
अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित प्रतियोगितामा आइतबार चार राउन्डको खेल सकिँदा लालीगुराँसका शतीश थापा, माच्छापुछ्रेका साहस श्रेष्ठ, युलेन्सका प्रियान्स अग्रवाल र ल्याब स्कुलका अंकुर पोखरेलले अग्रता लिएका हुन्। यी चारैले चारदेखि पाँच कक्षासम्म सर्वाधिक चार अंक बटुलेका छन्।
कक्षा ६ र ७ सम्मको प्रतिस्पर्धामा पाँच राउन्डको खेल सकिँदा निसर्ग वाटिकाका सात्विकमान तुलाधार र पुष्पसदनका हार्दिक पन्तले सर्वाधिक पाँच अंकसहित अग्रता लिएका छन्। गल्र्स कक्षा ६ र ७ सम्मको प्रतिस्पर्धामा मार्वलसका सोनालिका सर्राफ र निहाना श्रेष्ठ शीर्ष स्थानमा छन्।
चार राउन्डको समाप्तिमा दुवैले सर्वाधिक चार अंक जोडे। कुल ६० विद्यालयका करिब चार सय विद्यार्थी सहभागी रहेकोे आयोजकले जानकारी दिएको छ। हरेक स्पर्धामा शीर्ष २० स्थानका खेलाडीबीच दोस्रो दिन खेल प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता कुल आठ स्पर्धा समावेश गरिएका छन्। तीन कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएको छ। प्रतियोगिताको विद्यालयका प्रमुख कार्यकारी निदेशक अजित लामाले उद्घाटन गरेका थिए।
प्रकाशित: ५ श्रावण २०८२ ०७:१९ सोमबार

