शुक्रवार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सिदिङ्वा गाउँपालिकाले चारदिन स्थानीय बिदा दिएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले माघ २३ गते शुक्रवारदेखि माघ २६ गते सोमबारसम्म स्थानीय बिदा दिने गरी कार्यपालिकाको निर्णय रहेको जानकारी दिए । खेलको दर्शन र सहभागिता समेतलाई आधार मानेर स्थानीय बिदा प्रदान गरिएको पालिकाले जनाएको छ । २४ गते शनिबार बिदा परेकोले स्थानीय बिदा तीनदिन मात्र हुनेछ ।
जिल्ला खेलकुद विकास समिति आयोजक भएपनि प्रतियोगिताको सम्पूर्ण संयोजन सिदिङ्वा गाउँपालिकाले गरेको छ । संयोजनको जिम्मेवारी समेत रहेको, प्रतियोगितामा पालिकाभरीका विद्यालयका विद्यार्थी तथा शिक्षकसमेत सहभागी हुने सहितका कारणबाट स्थानीय बिदा दिएको अधिकारीले बताए । बिदाका समयमा अत्यावश्यक काम बाहेक अरु कामहरु हुने छैनन् ।
प्रतियोगिता संयोजनको भूमिका पाएकोले पालिकाका पदाधिकारी तथा प्रशासकीय टिमसमेत व्यस्त हुने हुँदा अत्यावश्यक काम बाहेक माघ २३ देखि २६ गतेसम्म अरु सेवा प्रवाह गर्न नसकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
सिदिङ्वा गाउँपालिका वडा नं ४ स्थित टावरडाँडामा सञ्चालन हुने १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा यहाँका ९ स्थानीय तहका करिव एक हजार विद्यार्थी खेलमा सहभागी हुँदैछन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश)ले अफिसियल समेत गरी करिव एकहजार एकसयजना सहभागी हुने जानकारी दिए । ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल दुईसय दुई पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गरी पालिकाले केहिदिन अघि मात्र उपभोग्य बस्तुको न्यूनतम् मूल्य सूची समेत सार्वजनिक गरेको छ । खेलाडी तथा अफिसियल टिमका लागि खाना र आवास स्थलको प्रवन्ध गरी यसअघि नै सम्वन्धित पालिकालाई जानकारी गराई सकिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिले १३ औं अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड देखि सदरमुकाम बाहिर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । सो भन्दा अघि अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाम फुङलिङ केन्द्रित थियो ।
१३ औं अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिरिजङ्गाको तेल्लोकमा, १४ औं आठराई त्रिबेणीको वडा नं २ फुलवारीस्थित महभीर खेलमैदानमा र १५ औं मैवाखोला गाउँपालिकाको वडा नं ३ साँघुस्थित नारायणी मावि साँघुको खेल मैदानमा सम्पन्न भई यसपटक अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड १६ औं सिदिङ्वाको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा हुन लागेको छ । १७ औं अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन गर्ने स्थानीय तहले माघ २६ गते सिदिङ्वाबाटै जिम्मेवारी ग्रहण गरी आन्तरिक तयारी थाल्ने मौका पाउने छन् ।
प्रकाशित: २२ माघ २०८२ १४:५४ बिहीबार





