मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा पुस १५ गतेदेखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा हुने प्रथम मानाभरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबले फुङलिङमा पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरेको हो। क्लबका संरक्षक समेत रहेका फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास), जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू (गणेश), क्लबका अध्यक्ष तुलसी दाहालको उपस्थितिमा क्लबका सचिव मौसम अन्छङवोले खेल तालिका सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको तालिका अनुसार पुस १५ को दिन उद्घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबविरुद्ध चाँगे माछापोखरी हिटी फुटबल क्लब मैदानमा उत्रने छ। पुस १६ गते हुने दोस्रो खेलमा सिँवा स्पोर्टिङ क्लबको भिडन्त लालीगुराँस फुटबल क्लब सुरुम्खिमसँग हुने छ भने सोही दिन हुने तेस्रो खेलमा आमन्त्रित लुखीभूजी युथ क्लब रामेछापविरुद्ध जनआर्दश स्पोर्टिङ क्लब ढुङगेसाँघु मैदानमा उत्रने छ।
पहिलो चरणको अन्तिम खेलमा पुस १७ गते नवप्रयास युनाइटेड क्लब हाङदेवा र प्रगतिशिल युथ क्लब लिङतेप आमनेसामने हुने छन्। पुस १८ गते पहिलो र दोस्रो सेमीफाइनल खेल हुनेछन् भने १९ गते फाइनल खेल हुने आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख २ हजार ८२ रुपैयाँ तथा द्धितीय हुनेले १ लाख ५२ हजार ८२ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद २ हजार ५ सय रुपैयाँ पाउँदा सर्वोत्कृष्ट हुने खेलाडीले ८ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउने आयोजक क्लबका कोषाध्यक्ष अदित्य लिम्बूले जानकारी दिए।
यस्तै विधागततर्फ उत्कृष्ट हुने प्रत्येक खेलाडीले जनही नगद ५ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउने भएका छन्। मानाभारा युथ स्पोर्टिङ क्लबका संरक्षक तथा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष साम्राका अनुसार खेजेनिमस्थित आहालेटार खेल मैदानमा हुने उक्त गोल्डकप खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धनको विशिष्ट उद्देश्य राखेर आयोजना गरिएको हो। नगदेवाली अलैँचीसहित विभिन्न कृषि बाली, धार्मिक तथा साँस्कृतिक पर्यटकीय केन्द्रहरू भएर पनि प्रचारप्रसारको अभावमा ओझेल परेको भन्दै आयोजकले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि खेलकुदलाई माध्यम बनाइएको बताएको छ।
कार्यक्रमका लागि कुल २० लाख खर्च हुने आयोजकको अनुमान रहेको छ। फक्ताङलुङ गाउँ कार्यपालिकाको कार्यालय, वडा नं २ खेजेनिमसहितका पालिकाका वडाहरू, स्थानीय जलविद्युत आयोजनासहितका सहयोगी निकायहरू र सहयोगी दाताहरूबाट कार्यक्रमको आय संकलन गर्ने आयोजकको योजना रहेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावो लिम्बूले खेलकुद र पर्यटनलाई जोडेर दुवै क्षेत्रको प्रवर्द्धन र उन्नयन सम्भव हुने भएकाले आयोजक संस्थालाई उद्देश्य अनुसारको प्रतिफल हासिल गर्न योगदान मिलोस् भन्ने शुभेच्छा अर्पण गरेका छन्।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, खेजेनिमका खेलकुद संयोजक गणेश पौडेल, आयोजक टिमका टिम क्याप्टेन मणिराज अन्छङ्वोसहितको उपस्थिति रहेको थियो।
प्रकाशित: ८ पुस २०८२ १३:१९ मंगलबार





