३ माघ २०८२ शनिबार
image/svg+xml
खेल

ताप्लेजुङको सिँवामा ‘प्रथम माघेनी मेला गोल्डकप’ हुँदै

ऐतिहासिक माघे मेलाको अवसर पारेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम, सिँवामा ‘आमन्त्रित प्रथम माघेनी मेला गोल्डकप-२०८२’ आयोजना हुने भएको छ।

माघे मेला सञ्चालन समिति र सिँवा स्पोर्टिङ क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन्।

माघ १ गतेदेखि सुरु हुने यस प्रतियोगितामा ८ फुटबल टिमको सहभागिता रहने माघे मेला वृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन समितिका संयोजक फुङनाम (रेशम) लिम्बूले जानकारी दिए।

सार्वजनिक तालिका अनुसार माघ १ गते हुने उद्घाटन खेलमा आयोजक सिँवा स्पोर्टिङ क्लब र मैवाखोलाको जनसेवा आदर्श स्पोर्टिङ क्लब, ढुङ्गेसाँघुबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो दिन माघ २ गते दुईवटा खेल हुनेछन्। पहिलो खेलमा धनकुटाको ड्रिम ब्वाइज फुटबल क्लबले तेह्रथुमको खाम्लालुङ ग्रामीण युवा समाजसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा पाँचथरको नाम्थोक युवा क्लब र ताप्लेजुङको बिसिएस मेमोरियल युवा क्लब, सावादिन आमनेसामने हुनेछन्।

पहिलो चरणको अन्तिम खेल माघ ३ गते ताप्लेजुङको सिदिङ्वास्थित लालीगुराँस स्पोर्टिङ युवा क्लब र झापाको कन्काई स्पोर्टिङ क्लबबीच हुनेछ।

माघ ४ गते सेमिफाइनल खेलहरू सञ्चालन हुनेछन् भने माघ ५ गते फाइनल खेल हुने सिँवा स्पोर्टिङ क्लबका संरक्षक मचिन्द्र लिम्बूले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख ७५ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

माघे मेला सञ्चालन समितिका अध्यक्ष तेजवीर लिम्बूका अनुसार व्यक्तिगत विधातर्फ प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताका क्रममा माघ ४ गते वृहत् सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको क्लबका संरक्षक दुर्गा लिम्बूले बताए। कार्यक्रममा गायक ताराप्रकाश लिम्बू, दीपा सुहाङ, बादल लिम्बूसहितका कलाकारहरूको प्रस्तुति रहनेछ।

मेला तथा प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसका लागि फक्ताङलुङ गाउँपालिका, वडा कार्यालयहरू तथा विभिन्न दाता र संघसंस्थाहरूबाट सहयोग जुटाइने आयोजकले जनाएको छ।

स्थानीय ९० वर्षीय भीपप्रसाद बरालका अनुसार यो मेला राणा शासनकालदेखि नै स्थानीय सुब्बाहरूले ‘माघेनी मेला’ (कक्फेक्वा पाङजुम) का रूपमा लगाउँदै आएका थिए।

द्वन्द्वकालमा केही समय स्थगित भएको यो ऐतिहासिक मेलालाई स्थानीयको सक्रियतामा पुनः निरन्तरता दिइएको अध्यक्ष लिम्बूले बताए।

प्रकाशित: २६ पुस २०८२ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App