१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

प्रथम गुठिचौर वडा कप : नरहरिनाथ-४ च्याम्पियन

जुम्लाको गुठिचौर  गाउँपालिका–१ मा कार्तिक ९ देखि सुरु भएको ‘प्रथम वडा कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८२’ शुक्रवार सम्पन्न भएको छ। खेलकुदमार्फत एकता, उत्साह र भाइचाराको सन्देश फैलाउने उद्देश्यले आयोजित प्रतियोगितामा जुम्ला, कालिकोट, जाजरकोट र डोल्पा गरी चार जिल्लाका १३ टिम सहभागी थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कालिकोटको नरहरिनाथ गाउँपालिका–४ ले उपाधि जित्न सफल भयो। जाजरकोटको बारेकोट गाउँपालिका–१ उपविजेता बन्यो। विजेता टिमले एक लाख ११ हजार १ सय ११ नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेका छ। उपविजेतालाई ७३ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र, मेडल र ट्रफि प्रदान गरिएको थियो। 

तृतीय जुम्ला पातारासी गाउँपालिका–६ को टिम भएको छ। उक्त टिमले ३७ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाण पत्र, मेडल र ट्रफि प्राप्त गरेको छ। स्थानीय युवादेखि वृद्धसम्मको सहभागिताले प्रतियोगितालाई उत्सवजस्तै माहोल बनाएको थियो। समापन समारोहमा गुठिचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुन कुमार महताराले खेलकुदले युवामा अनुशासन, आपसी सहकार्य र नेतृत्व विकासको भावना जगाउने बताए।

उनले भने,‘हाम्रो वडामा पहिलो पटक यस स्तरको प्रतियोगिता आयोजना भएको हो। टाढा टाढाबाट आएका खेलाडी र दर्शकले जुन उत्साह देखाए, त्यसले हामीलाई आगामी वर्ष अझ ठुलो स्तरमा आयोजना गर्ने हौसला दिएको छ।’

उनका अनुसार पहिलो पटक आयोजना गरिएको वडा कपले स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाएको छ। खेलमैदानमा उमंग मात्र होइन, गाउँ स्तरमै खेल पूर्वाधार विकासको आवश्यकता र सम्भावनाको चर्चा पनि बढेको छ। अध्यक्ष महताराले आगामी वर्ष अझ फराकिलो रूप र उच्च व्यवस्थापनसहित दोस्रो संस्करण आयोजना गरिने जानकारी दिए। 

प्रकाशित: १५ कार्तिक २०८२ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App