१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ?

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा अमेरिका र बेल्जियम भिड्दैछन्। वासिङ्टनस्थित सिएटल स्टेडियममा हुन लागेको यो खेल नेपाली समयअनुसार मंगलबार बिहान ५ः४५ बजे सुरु हुनेछ।

अमेरिकाले समूह डीमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। उसले समूह चरणमा पाराग्वे र अष्ट्रेलियालाई हरायो भने टर्किएसँग पराजित भयो। त्यसपछि राउन्ड अफ ३२ मा बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनायो।

यता बेल्जियमले समूह जीमा शीर्ष स्थान सुरक्षित गर्‍यो। उसले न्युजिल्यान्डलाई हराउँदा इजिप्ट र इरानसँग बराबरी खेलेको थियो। राउन्ड अफ ३२ मा अतिरिक्त समयमा सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो।

अन्तिम १६ को खेलअघि अहिले सबैभन्दा धेरै चर्चा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको निलम्बनलाई लिएर भइरहेको छ।

बोस्निया–हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बालोगनले सामान्यतया एक खेलको प्रतिबन्ध भोग्नुपर्ने थियो। तर फिफाले अनुशासन संहिताको धारा २७ अनुसार उनको निलम्बन एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेपछि उनी बेल्जियमविरुद्ध खेल्न पाउने भएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग यस विषयमा व्यक्तिगत रूपमा छलफल गरेका थिए।

त्यसपछि फिफाले निर्णय परिवर्तन गरेको दाबी गरिएको छ। यद्यपि यसबारे फिफाले कुनै राजनीतिक दबाब परेको स्वीकार गरेको छैन।

फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले फुटबल राजनीतिक शक्तिको केन्द्र बन्न नहुने बताएका छन्। उनले एक्समा लेखेका छन्,‘ फुटबल कहिल्यै पनि राजनीतिक शक्तिको खेल मैदान बन्नु हुँदैन।’

यस्तै, युरोपेली फुटबल महासंघ (युइएफए) ले एक खेलको स्वचालित निलम्बन ‘विवेकी विकल्प होइन’ र यो ‘नियमहरूमा सम्मिलित सिद्धान्त’ रहेको बताएका छन्।

‘जब नियमहरूको निश्चितताको ग्यारेन्टी यसको संरक्षकहरूले गर्दैनन्, खेलको अखण्डता खतरामा पर्छ। प्रतियोगिताको विश्वसनीयता कमजोर हुन्छ। खेलकुद निकायहरूको हो, राजनीतिज्ञहरूको होइन’, युईएफएले एक विज्ञप्तिमा भनेको छ।

दुवै प्रशिक्षकको फरक प्रतिक्रिया

अमेरिकी प्रशिक्षक मौरिसियो पोचेटिनोले बालोगनमाथिको प्रारम्भिक सजाय अत्यधिक भएको भन्दै फिफाको निर्णय उचित भएको बताए।

उनले भने, ‘यस्तो निर्णय विगतमा पनि भएका छन्। यो केवल हाम्रो टोलीका लागि भएको असाधारण घटना होइन’।

तर बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले भने निर्णयप्रति असन्तुष्टि जनाए। उनले व्यंग्य गर्दै भने, ‘फिफाको कार्यालयमा जुलाई ५ नै अप्रिल फूल दिवस जस्तो देखियो’। उनले यस्तो निर्णयले प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठाएको टिप्पणी गरे।

इतिहास बेल्जियमको पक्षमा

विश्वकपमा अमेरिका र बेल्जियमबीचको इतिहास बेल्जियमको पक्षमा देखिन्छ। सन् १९३० को विश्वकपमा अमेरिकाले बेल्जियमलाई ३–० ले हराएपछि भएका पछिल्ला सबै ६ भेटमा बेल्जियम विजयी भएको छ।

मार्चमा भएको मैत्रीपूर्ण खेलमा पनि बेल्जियमले अमेरिकालाई ५–२ ले पराजित गरेको थियो।

यस खेलको विजेताले क्वार्टरफाइनलमा पोर्चुगल वा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

ट्रम्पको व्यक्तिगत हस्तक्षेपले फिफाबाट अन्तिम समयमा भएको निर्णयले मैदानमा हुने भिडन्तले राजनीतिक मोड लियो। अब यो निर्णय बेल्जियमविरुद्ध काम गर्छ कि गर्दैन भनेर हेर्न बाँकी छ।

प्रकाशित: २२ असार २०८३ १९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App