फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै जित हात पारेको छ। खेलको ९ औं मिनेटमा जुलियन क्विनोन्सले गोल गरेका थिए। त्यसपछि ६७ औं मिनेटमा स्ट्राइकर राउल जिमेनेजले उत्कृष्ट हेडर गोल गर्दै अग्रता दोब्बर बनाए।
मेक्सिको सिटीको एज्टेका रंगशालाका रेफ्रीले तीन जनालाई रातो कार्ड दिएका थिए। दक्षिण अफ्रिकाका स्फेफ्लो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाए भने मेक्सिकोका सेसर मोन्टेसलाई अतिरिक्त समयमा रातो कार्ड देखाइएको थियो।
दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिकी मिडफिल्डर स्फेफेलो सिथोलेले रातो कार्ड पाएका हुन्। ४९ औं मिनेटमा सिथोले ब्रायन गुटिएरेज गोल तर्फ अगाडि बढ्दै गर्दा पछाडिबाट फाउल गरे। रेफ्रीले रातो कार्ड देखाइदिए।
दक्षिण अफ्रिकाको समस्या यतिमै सीमित भएन। ८४ औं मिनेटमा थेम्बा ज्वानेलाई हिंसात्मक आचरणको लागि रातो कार्ड देखाइयो। सो पश्चात् दक्षिण अफ्रिकाले नौ खेलाडीसँग खेल खेल्नुपर्यो। मेक्सिकोका सेसर मोन्टेसलाई पनि इन्जुरी समयमा गोल रोक्ने क्रममा रातो कार्ड देखाइएको थियो।
प्रकाशित: २९ जेष्ठ २०८३ ०७:०६ शुक्रबार





