३ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

बढ्दै फिफाको आन्तरिक विवाद

विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सिओओ) केभिन लामोरले पद छाडेपछि फुटबलको सर्वोच्च निकायभित्र आन्तरिक विवाद थप बढ्ने भएको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि फिफा विश्वकपको आम्दानी निजी इक्विटी फन्डलाई बेच्ने योजनाबारे कर्मचारीलाई भ्रममा पारेको आरोप लगाएको केही सातापछि उनले पद छाडेका हुन्। ज्युरिचमा कार्यरत लामोरले अगस्ट १ तारिखमा दिएको वक्तव्यमा आफ्ना सहकर्मीहरूको बचाउ गर्दै आफू बर्खास्त हुनेसक्ने अवस्थासम्म पुर्‍याएका थिए।

भविष्यमा विश्वकपबाट हुने आम्दानीमा निजी इक्विटी फन्डलाई हिस्सा बिक्री गर्ने इन्फान्टिनोको योजना थियो। यो योजनाका कारण विवाद चर्किएपछि इन्फान्टिनो पछि हटे। योजनाको तयारीका क्रममा इन्फान्टिनोले पर्याप्त पारदर्शिता नअपनाएको भन्दै लामोरले फिफाका कर्मचारीहरूलाई भ्रममा पारेको उनीमाथि आरोप छ।

इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले पदबाट अलग हुने निर्णय गरेकै दिन लामोरले उक्त वक्तव्य जारी गरेका थिए। २० अर्ब डलरको व्यावसायिक सहायक कम्पनी स्थापना गर्ने योजनालाई कोर्डेइरोले फुटबलका लागि खराब सम्झौता भनेका थिए।

लगातार कर्मचारीले पद छाडेपछि फिफा अध्यक्षमा पुनः निर्वाचित हुने प्रयासमा रहेका इन्फान्टिनोमाथि दबाब बढेको छ। युरोप, एसिया तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका तीन महादेशीय फुटबल महासंघका प्रमुखहरूले गत साता संयुक्त पत्र जारी गर्दै इन्फान्टिनोको विश्वकप योजनालाई विश्वासको आधारभूत उल्लङ्घन र धोका भनेका थिए।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफाका सबै खेल तथा कार्यक्रम बहिष्कार गर्न सकिने चेतावनीसमेत दिएको थियो। केही देशका फुटबल महासंघले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिएका छन्। यद्यपि, अरब क्षेत्रका ६ वटा फुटबल महासंघका प्रमुखहरूले गत साता इन्फान्टिनोप्रति आफ्नो पूर्ण समर्थन र विश्वास रहेको बताएका थिए।

इन्फान्टिनो सन् २०१६ देखि फिफा अध्यक्ष छन्। उनी अर्को वर्ष मोरक्कोमा तय निर्वाचनमा निर्विरोध पुनः निर्वाचित हुने लगभग निश्चितजस्तै देखिएका थिए। फिफाले अध्यक्ष पदका आकांक्षीहरूका लागि उम्मेदवारी घोषणा गर्ने अन्तिम मिति नोभेम्बर १८ तारिखमा तोकेको छ।  

प्रकाशित: ३ भाद्र २०८३ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App