२४ असार २०८३ बुधबार
image/svg+xml
खेल

‘फिफाको निर्णयले टोलीलाई बलियो बनायो’

बेल्जियमका कप्तान युरी टिलेमान्सले प्रतिबन्धका बावजुद अमेरिकाका फोलारिन बालोगुनलाई खेल्न दिइएको निर्णयले आफ्नो टोलीलाई थप बलियो बनाएको बताएका छन्।

सिएटलमा मंगलबार भएको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अमेरिकामाथि ४–१ को सानदार जितपछि बेल्जियमका कप्तान टिलेमान्सले उक्त प्रक्रिया दिएका हुन्। अमेरिकाका स्ट्राइकर बालोगुनको एक खेलको प्रतिबन्ध बेल्जियमसँगको खेलअघि फिफाले अप्रत्याशित रूपमा फुकुवा गरेको थियो। उक्त निर्णयपछि बेल्जियमको टोलीभित्र विशेष बैठक बसेको र त्यसले खेलाडीहरूलाई थप एकताबद्ध बनाएको टिलेमान्सको भनाइ छ। ‘सत्य कुरा भन्नुपर्दा त्यो निर्णय थाहा पाएपछि बैठक राखेका थियौं। त्यसपछि मैदानमै आफ्नो प्रदर्शनमार्फत जवाफ दिने लक्ष्य लियौं। आज त्यही गरेर देखायौं र टोलीको प्रदर्शनप्रति निकै गर्व लागेको छ,’ एस्टन भिल्लाका मिडफिल्डर टिलेमान्सले भने।

बालोगुनलाई अन्तिम ३२ को खेलमा रातो कार्ड दिइएपछि एक खेल (बेल्जियमविरुद्ध) को प्रतिबन्ध लागेको थियो। तर खेलअघि फिफाले उक्त प्रतिबन्ध हटाएपछि उनी अमेरिकाको सुरुआती टोलीमा परे। यद्यपि, उनले खेलमा उल्लेखनीय प्रभाव छाड्न सकेनन्। फिफाको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि आएको भन्दै विश्व फुटबलमा व्यापक आलोचना पनि भइरहेको छ। बेल्जियमका अर्का मिडफिल्डर निकोलस रास्किनले पनि अन्याय भएको महसुस गरिएको बताए।

‘हामीलाई अन्याय भएको जस्तो अनुभूति भएको थियो। त्यसैले त्यसको जबाफ मैदानमा दिने दृढ संकल्प गरेका थियौं,’ उनले भने।

विंगर डोडी लुकेबाकियोले पनि बालोगुनलाई खेल्न दिइएको निर्णय आफूहरूलाई बुझ्न गाह्रो भएको बताए। ‘रातो कार्ड पाएका खेलाडीलाई किन खेल्न दिइयो बुझ्न सकेनौं तर त्यसबारे धेरै सोचेनौं। हाम्रो ध्यान आफ्नै खेलमा केन्द्रित थियो। उत्कृष्ट प्रदर्शन ग¥र्यांै र त्यसमा निकै खुसी छौं। बाहिर जे भइरहेको थियो, त्यो हाम्रो विषय थिएन,’ उनले भने।

बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सिया खेलअघि फिफाको निर्णयको कडा आलोचक थिए। उनले त्यस बेला यो निर्णय ‘अप्रिल फूल’ जस्तो लागेको प्रतिक्रिया दिएका थिए। तर खेलपछि भने उनले संयमित प्रतिक्रिया दिँदै विवादभन्दा टोलीको प्रदर्शन नै महत्त्वपूर्ण रहेको बताए।

‘खेलाडीहरूलाई बाहिर के भइरहेको छ भन्ने जानकारी दिएका थियौं। टोली निकै परिपक्व छ र अनुभवी खेलाडीहरूले परिस्थिति राम्रोसँग सम्हाले। मैले उनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आफ्नै खेल हो भनेर सम्झाएको थिएँ,’ गार्सियाले भने।

गार्सियाले खेलपछि बालोगुन आपैंm आएर भेटेको प्रसंग पनि सुनाए। ‘खेलपछि उनी मसँग कुरा गर्न आए। मलाई त्यो निकै राम्रो लाग्यो। यो उनको गल्ती होइन। दोष उनीमाथि लगाउन मिल्दैन र मैले उनलाई पनि भनेँ। उनी आफैं भेट्न आउनु उनको राम्रो नियतको संकेत थियो र त्यसको म सम्मान गर्छु,’ उनले भने।

 बालोगुन विवादका कारण चर्चामा रहेको खेलमा बेल्जियमले सुरुदेखि नै दबाब बनाएको थियो। मलिक टिलम्यानको डिफ्लेक्ट भएको फ्रिकिकमार्फत एक गोल फर्काए पनि त्यसबाहेक घरेलु टोलीले खासै चुनौती दिन सकेन।

गार्सियाले भने अमेरिकाले समग्रमा राम्रो प्रदर्शन गरेको स्वीकार गर्दै आफ्नो टोलीले खेल योजनालाई उत्कृष्ट रूपमा कार्यान्वयन गरेको बताए। ‘अमेरिकाले यो विश्वकपमा राम्रो प्रदर्शन गरेको टोली हो। उनीहरू निकै ऊर्जाशील र तीव्र खेल्ने टोली हुन्। तर हाम्रो योजना सफल भयो र खेलाडीहरूले त्यसलाई अनुशासित रूपमा कार्यान्वयन गरे,’ उनले भने।

कप्तान टिलेमान्सले पनि सुरुदेखि नै दबाब सिर्जना गर्ने रणनीति सफल भएको बताए। ‘सुरुदेखि नै बलियो सुरुआत गर्न चाहन्थ्यौं। अघिल्ला खेलमा त्यही पक्ष कमजोर रहेको थियो। अमेरिकामाथि निरन्तर दबाब सिर्जना गर्न सक्यौं भने उनीहरूबाट गल्ती हुनेछ भन्ने थाहा थियो। खेलभर त्यही गर्यौं र त्यसको नतिजा हाम्रो पक्षमा आयो,’ उनले भने।  

प्रकाशित: २४ असार २०८३ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App