३० असार २०८३ मंगलबार
image/svg+xml
खेल

महादेशबाहिर पनि युरोपको दबदबा

फिफा विश्वकपको इतिहास पल्टाउँदा युरोपका राष्ट्रहरू आफ्नो महादेशबाहिर हुने आयोजनामा प्रायः अपेक्षाअनुसार प्रदर्शन गर्न सक्दैनन्।

सन् १९३० देखि अहिलेसम्म युरोपेली राष्ट्रले आफ्नै महादेशबाहिर दुईपल्ट मात्र विश्वकप जितेको इतिहास छ। सन् २०१० मा दक्षिण अफ्रिकामा स्पेनले पहिलोपल्ट यो उपलब्धि पाएको थियो। त्यसको चार वर्षपछि ब्राजिलमा भएको विश्वकपमा जर्मनीले इतिहास दोहोर्‍यायो।

सन् २०२६ को विश्वकपले भने अर्को नयाँ अध्याय लेख्ने संकेत गरिरहेको छ। युरोपले नै विश्वकप जित्ने सम्भावना धेरै देखिन्छ। किनकि उत्तर अमेरिकामा भइरहेको विश्वकपको क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये ६ वटा युरोपका छन्। बेल्जियम, इङ्ल्यान्ड, फ्रान्स, नर्वे, स्पेन र स्विट्जरल्यान्डसँगै अर्जेन्टिना र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये दक्षिण अमेरिकाको एक टोली अर्जेन्टिना र अफ्रिकाको एउटा टोली मोरक्को छन्।

युरोपबाहिर आयोजना भएको विश्वकपमा सन् १९९४ यता पहिलोपटक यति धेरै युरोपेली राष्ट्र क्वार्टरफाइनलमा पुगेका हुन्। यस विश्वकपको सुरुआत भने युरोपेली टोलीका लागि सहज थिएन। समूहचरणका पहिलो खेलमा १० युरोपेली राष्ट्रमध्ये सातले जित निकाल्न सकेनन्। त्यस बेला धेरैले उत्तर अमेरिकाको गर्मी, थकान र फरक वातावरणलाई यसको प्रमुख कारणका रूपमा औंल्याएका थिए।

उद्घाटन खेलअघि नै तातो क्षेत्रलाई प्रशिक्षण केन्द्र बनाउँदै टोलीले मौसमसँग घुलमिल हुने प्रयास पनि गरे। तर प्रशिक्षकहरूले भने हार वा बराबरीको दोष मौसममाथि थोपर्न चाहेनन्। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले इजिप्टसँग १–१ को बराबरीपछि तापक्रमभन्दा प्रदर्शन नै कमजोर भएको स्वीकार गरे।

स्विट्जरल्यान्डका प्रशिक्षक मुराट याकिनले पनि कतारविरुद्ध अंक गुम्नुको कारण अवसर सदुपयोग गर्न नसक्नु कारण दिए। तर, खेलहरू अगाडि बढ्दै जाँदा युरोपेली टोलीहरूमा लय फर्कियो। समूहचरण सकिँदासम्म युरोपबाहिरका टोलीविरुद्ध उनीहरूले १७ जित, १२ बराबरी र सात हारको नतिजा निकाले। यसले विश्वकपको गति नै परिवर्तन गरिदियो। नकआउट चरणमा त उनीहरूको मानसिक मजबुती अझ स्पष्ट देखियो। इङ्ल्यान्डले मेक्सिको सिटीको ऐतिहासिक अज्टेका रंगशालामा घरेलु टोली मेक्सिकोविरुद्ध खेल्दा उचाइ, गर्मी र हजारौं समर्थकको दबाबसँग एकैपटक जुध्नुपर्‍यो तर पनि इङ्ल्यान्डले संयम गुमाएन र सबैभन्दा परिपक्व प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

इङ्ल्यान्डका पूर्वस्ट्राइकर वायन रुनीले त्यस प्रदर्शनलाई विश्वकप जित्ने क्षमता भएको टोलीका रूपमा व्याख्या गरेका छन्। यस्तो जितले टोलीभित्रको आत्मविश्वास नयाँ उचाइमा पुग्ने उनको विश्वास छ। दक्षिण अमेरिकी टोली पाराग्वेको कडा र मानसिक दबाब सिर्जना गर्ने शैलीलाई पार गर्दै युरोपकै फ्रान्स पनि अन्तिम आठमा स्थान बनाउन सफल भयो। बेल्जियमले घरेलु समर्थकमाझ सहआयोजक अमेरिकामाथि प्रभावशाली जित रच्दै अन्तिम आठको यात्रा तय गरेको हो। अब बेल्जियमसामु युरो च्याम्पियन स्पेनको चुनौती छ। इङ्ल्यान्डका पूर्वडिफेन्डर म्याट अप्सनले स्पेनको बलियो मिडफिल्डविरुद्ध उत्कृष्ट प्रदर्शन नगरेसम्म बेल्जियमका लागि सेमिफाइनल यात्रा सहज नहुने प्रतिक्रिया दिएका छन्। विश्वकपमा ४८ राष्ट्र सहभागी गराउने नयाँ संरचनाले पनि युरोपको सफलतामा विशेष अर्थ राखेको छ।

किनकि यसपल्ट विश्वकपमा युरोपले सबैभन्दा धेरै १६ स्थान पायो। यीमध्ये नकआउट चरण पार गर्दै धेरै युरोपकोटोली अन्तिम आठमा पुग्नु अर्को उपलब्धि हो। पाँच पटकको विश्वविजेता ब्राजिल बाहिरिँदा सहआयोजक क्यानडा, मेक्सिको र अमेरिका सबै अन्तिम १६ बाटै बिदा भए। युरोपेली टोलीहरूले भने आफ्नो प्रभाव कायम राखे। विश्व फुटबलको वरीयताले पनि यही तस्बिर देखाउँछ। फिफा वरीयताको शीर्ष आठभित्र पाँच युरोपेली राष्ट्र छन् र तीमध्ये चार टोली क्वार्टरफाइनलमा पुगेका छन्। सातौं वरीयताको पोर्चुगल भने स्पेनसँगको युरोपेली भिडन्तमा पराजित भयो। विश्वकप सुरु हुनुअघि नै फ्रान्सलाई उपाधिको बलियो दाबेदार मानिएको थियो।

प्रदर्शनले पनि त्यो अनुमानलाई सही साबित गरिरहेको छ। किलियन एमबाप्पे सात गोलसहित गोल्डेन बुटको प्रतिस्पर्धामा छन्। तर फ्रान्सको सबैभन्दा ठूलो शक्ति एमबाप्पे मात्र होइन। खेलको इन्जुरी समयमा आउने स्तरीय विकल्पहरू पनि फ्रान्ससँग छ। रायन चेर्की, उसमान डेम्बेले र डेजिरे डुएजस्ता खेलाडीले थाकेका प्रतिद्वन्द्वीविरुद्ध खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन्। स्पेन पनि उपाधिको अर्को बलियो दाबेदार हो। उमेर समूहदेखि सिनियर स्तरसम्म निरन्तर सफलता पाउँदै आएको स्पेनले फेरि एकपटक आफ्नो सन्तुलित खेलबाट दाबेदारी दिएको छ। इङ्ल्यान्डलाई पनि धेरैले उपाधि होडको प्रमुख टोलीका रूपमा हेरिरहेका छन्। तर यस विश्वकपका सबैभन्दा आश्चर्य दुई टोली बनेका छन्, नर्वे र स्विट्जरल्यान्ड।

सन् १९९८ पछि पहिलोपल्ट विश्वकप खेलेको नर्वेले आफ्नो पुनरागमनलाई अविस्मरणीय बनाइरहेको छ। यसको केन्द्रमा छन्, एर्लिङ हालान्ड। म्यानचेस्टर सिटीका स्टार फरवार्डले विश्वकपमा सात गोल गरिसकेका छन्। क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध पनि उनी निर्णायक बन्न सक्छन्।

स्विट्जरल्यान्डले पनि इतिहास रचेको छ। कोलम्बियाविरुद्ध तनावपूर्ण पेनाल्टी सुटआउट जित्दै स्विस टोली सन् १९५४ पछि पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। प्रशिक्षक मुराट याकिनले यसलाई स्विस फुटबल इतिहासकै महत्त्वपूर्ण क्षणको संज्ञा दिए। तर उनीहरूको यात्रा अब कठिन छ। जहाँ उसले साबिक विजेता अर्जेन्टिनाको चुनौती सामाना गनुपर्नेछ।

विश्वकप अझै समाप्त भएको छैन तर एउटा कुरा स्पष्ट देखिन्छ। सुरुआती संघर्षपछि युरोपेली राष्ट्रहरूले आफूलाई फेरि विश्व फुटबलको केन्द्रमा स्थापित गरेका छन्। अब प्रश्न एउटै बाँकी छ। के सन् २०१४ पछि पहिलोपल्ट कुनै युरोपेली राष्ट्रले आफ्नै महादेशबाहिर विश्वकप जित्दै इतिहासमा अर्को अध्याय थप्नेछ। या अर्जेन्टिना र मोरक्कोले यो प्रभुत्व तोड्नेछन् ? उत्तर केही दिनमै मैदानले दिनेछ। तर अहिलेको संकेत भने युरोप प्रबल दाबेदार देखिन्छ। 

प्रकाशित: २५ असार २०८३ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App