नेपाली खेलकुदकै सफल खेलाडी करातेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा लगातार तीन संस्करण जित्ने खेलाडी भएकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा बिहीबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा एरिका वर्ष उत्कृष्ट महिला खेलाडी र बक्सिङका चन्द्रबहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडी भए। यससँगै एरिका यो अवार्डमा ह्याट्रिक गर्ने खेलाडी पनि भइन्।
उक्त विधामा करातेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी (साम्बा) प्रतिस्पर्धामा थिए। एरिका गुरुङले गत वर्ष मोरक्कोमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा कांस्य, टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक र चीनमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी थिइन्।
यता पुरुषतर्फ विजेता चन्द्रले एथलेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्यलाई पछि पारेका हुन्। चन्द्र थापाले दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा कांस्य पदक जितेका थिए। उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली मुक्केवाज हुन्। जसबापत उनले ७५ हजार अमेरिकी डलर पुरस्कार जितेका थिए। व्यक्तिगत रूपमा नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पुरस्कार राशि थियो। वर्ष पुरुष खेलाडी चन्द्र र एरिका दुवैले बजाज पल्सर मोटरसाइकल प्राप्त गरे। चन्द्र हाल २०औं एसियन गेम्सको तयारीका लागि भारतमा वैदेशिक प्रशिक्षणमा व्यस्त छन्। चन्द्रको स्थानमा उनका आफ्नै दाइ एवम् १३औं सागका स्वर्ण विजेता बक्सर भूपेन्द्र थापाले अवार्ड लिए।
प्रशिक्षकमा कुशल र युवामा मनीषा उत्कृष्ट
यस २३औं संस्करणको अवार्ड विजेता सूचीमा पनि करातेको नै वर्चस्व रह्यो। करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक र करातेकै मनीषाकुमारी बोहराले वर्ष युवा खेलाडीको पुरस्कार जिते। यी दुईसँगै यस संस्करणमा नेपाली करातेका चार जना अवार्डबाट सम्मानित भए। प्रशिक्षक कुशल दोस्रोपल्ट यो अवार्डका विजेता हुन्। यसअघि पनि उनी दुई वर्षअगाडि २१औं संस्करणमा पनि उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। यस विधामा बक्सिङका दीपक महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेट प्रशिक्षक पुरन सिंह खत्री मनोनयनमा थिए।
गत वर्ष एरिका गुरुङले प्रतिष्ठित कराते वान प्रिमियर लिगमा कांस्यसँगै विभिन्न पदक जित्दा कुशल प्रशिक्षक हुन्। यता, युवामा विजेता करातेकै मनीषाले पनि करातेकै रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तवलाई पछि पारिन्। वर्ष प्रशिक्षक कुशल श्रेष्ठ र मनीषा दुवैले बजाज पल्सर मोटरसाइकल प्राप्त गरे।
नेपाललाई प्रथम नेत्रहीन महिला टी ट्वान्टी क्रिकेटको फाइनलसम्म पु¥याउन विशेष योगदान दिने सुष्मा तामाङ पारा एथलेट सम्मान २०८२ बाट सम्मानित भइन्। सुष्मा पूर्ण रूपमा दृष्टि गुमाएकी अर्थात् बी वान क्याटेगोरीकी क्रिकेटर हुन्। भारत र श्रीलंकाको सहआयोजनामा भएको नेत्रहीन विश्वकपको पहिलो संस्करणमा नेपाल उपविजेता हो। जहाँ उनी ‘बी वान’ क्याटगोरीको प्लेयर अफ द सिरिज थिइन्।
पिपल्स च्वाइसमा भलिबलकी मीना
पिपल्स च्वाइसको यस विधामा लामो समयदेखि भलिबलका खेलाडीले नै बाजी मार्ने गरेका छन्। अघिल्ला संस्करणमा पनि भलिबलकै हिमाल सुनारीले यो अवार्ड जितेका थिए। यसपल्ट पनि भलिबलकी खेलाडी मीना सुनार सर्वाधिक मत प्राप्त गर्दै वर्ष २०८२ को पिपल्स च्वाइस बनिन्। यस विधामा मिक्स मार्सल आर्ट्सका खेलाडी रवीन्द्र डाँट, करातेकी सानुमाया थिङ, फुटबलकी पूजा राना र क्रिकेटका शेर मल्ल थिए।
मीनाले कुल २९.०४ प्रतिशत मतसहित अवार्ड जितिन्। उनले पल्सर बाइक प्राप्त गरिन्। रवीन्द्रले २४.५३ प्रतिशत, करातेकी सानुमायाले १८.४८ प्रतिशत, फुटबलकी पूजाले १४.७५ प्रतिशत र क्रिकेटका शेर मल्लले १३.२५ प्रतिशत मत पाए। यस विधाको लागि एसएमएस भोटबाट ५० प्रतिशत, सामाजिक सञ्जालबाट २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यबाट समान १२.५ प्रतिशतबाट विजेता घोषणा भएको हो।
विशेष व्यक्तित्व ध्रुवविक्रम र कुमार मोहनबहादुर सम्मानित
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा करातेका प्रशिक्षक धु्रवविक्रम मल्ललाई स्पेसल अवार्ड र ब्याडमिन्टन खेलाडीका रूपमा जीवन बिताएका कुमार मोहनबहादुर शाही लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।
२०४८ सालमा आफूले खोलेको बालाजु कराते डो एकेडेमीमार्फत मल्लले धेरै उत्कृष्ट अन्तर्राष्ट्रिय कराते खेलाडी जन्माएका छन्। एसियाली खेलकुदका कास्ंय जित्ने विमला तामाङदेखि साग खेलकुदमा स्वर्ण पदक दिलाउने दर्जनौं पदकधारी खेलाडी नेपाली करातेलाई दिएका प्रशिक्षक हुन्, उनी। अल्ट्रा म्याराथन मीरा राई जस्ता विश्व चर्चित खेलाडी उनका उत्पादन हुन्। ध्रुवविक्रमले खेलाडीलाई सिकाउने मात्र होइन आर्थिक अभावबाट गुज्रिएकाले निशुल्क रूपमा पढाउने, हुर्काउने र अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पु¥याउने गरिरहेका छन्।
ब्याडमिन्टनमा जीवन समर्पण गर्ने कुमार मोहन बहादुर शाही एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। ८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन्। उनी ब्याड्मिन्टनसँगै फुटबल, टेबल टेनिस, टेनिस र ब्याडमिन्टनका उम्दा खेलाडी थिए।
सन् १९७२ मा भएको आमन्त्रण ब्याड्मिन्टन प्रतियोगितामा शाही त्यति बेलाका विश्व नम्बर एक खेलाडी चीनका ली लाई पराजित गरेका थिए। उमेरले पाकोपन भए पनि कोर्टसँगको उनको सम्बन्ध टुटेको छैन। उनी अझै ¥याकेट समातेर कोर्टमा उत्रिन्छन्। उनको यो अनवरत यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।
पारा एथ्लिट विजेता सुस्मासँगै लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित कुमार मोहनबहादुर र स्पेसल अवार्डबाट सम्मानित ध्रुव विक्रमले समान एक लाख नगद पुरस्कार पाए। कुमार मोहनबहादुरले उक्त रकम बाढीपीडितलाई दिने घोषणा गरेका थिए। कुल ९ विधामध्ये एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्डबाट भारतका खेलपत्रकार सबा नायकन सम्मानित भए।
अन्तर्राष्ट्रिय स्पोर्ट्स जर्नलिस्ट फेडरेसन्स एआइपिएसका केन्द्रीय सदस्य तथा एआइपिएसका उपाध्यक्ष नायकनसँग दी हिन्दु, इन्डियन एक्सप्रेस र टेलिग्राफमा काम गरेको अनुभव छ। उनको अवार्ड एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ग्रहण गरेका थिए।
प्रकाशित: १९ भाद्र २०८३ ०६:३२ शुक्रबार





