२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

इङ्लिस प्रिमियर लिग: नाै नयाँ प्रशिक्षक, नयाँ युग

नयाँ सिजन (२०२६–०२७) को इङ्लिस प्रिमियर लिग अझै सुरु भएको छैन तर सिजन सुरु हुनुअघि नै यसले केही इतिहास रचिसकेको छ।

गत सिजनको च्याम्पियन आर्सनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्ध अगस्ट २१ तारिखमा खेलेसँगै प्रिमियर लिग सुरु हुनेछ। जहाँ केही इतिहास पनि बन्ने तयारी हुँदै छ। यसपटक उद्घाटन सप्ताहान्तमै ९ वटा क्लब नयाँ मुख्य प्रशिक्षकसहित मैदानमा उत्रने भएका छन्। यो प्रिमियर लिग इतिहासमै एकै सिजनको सुरुआतमा सबैभन्दा धेरै क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको पहिलो पटक हो।

लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र न्यु क्यासल युनाइटेडजस्ता ठूला क्लबदेखि अन्य टोलीसम्म प्रशिक्षक परिवर्तनको लहर चलेको छ। यसको प्रभावले प्रिमियर लिगको संरचनालाई नै नयाँ स्वरूप दिएको छ। आर्ने स्लट बर्खास्त भएपछि लिभरपुलले स्पेनिस प्रशिक्षक आन्दोनी इराओलालाई नियुक्त गरेको छ।

दशकभन्दा बढी सफल कार्यकालपछि पेप ग्वार्डिओलाले पनि म्यानचेस्टर सिटी छाडेपछि क्लबले एन्जो मारेस्कालाई जिम्मेवारी दिएको छ। चेल्सीले लियाम रोजेनियरको असफल कार्यकालपछि जाबी आलोन्सोलाई भित्र्याएको छ। इराओलाको सम्झौता सकिएपछि बर्नमाउथले मार्को रोजलाई नियुक्त गरेको छ भने भिटोर परेरालाई हटाएर नटिङ्घम फरेस्टले ओलिभर ग्लासनरलाई नयाँ प्रशिक्षक बनाएको छ।

ग्लासनरको सम्झौता समाप्त भएपछि क्रिस्टल प्यालेसमा पिएर सेज आएका छन्। मार्को सिल्भाको सम्झौता सकिएपछि फुलहमले अल्भारो आर्बेलोआलाई नियुक्त गरेको छ। किरन म्याकेन्नाले पद त्यागेपछि इप्सविच टाउनले ग्यारी ओ निललाई नयाँ प्रशिक्षक बनाएको छ। एडी हाउले पद छाडेपछि न्यु क्यासल माथियास याइस्लेलाई नियुक्त गर्ने तयारीमा छ।

यससँगै नयाँ सिजन सुरु गर्ने नयाँ स्थायी प्रशिक्षक भएका क्लबको संख्या नौ पुग्नेछ। यसअघि २०१६–१७ को सिजनमा आठ क्लबले नयाँ प्रशिक्षकसहित सिजन सुरु गरेका थिए। त्यही वर्ष पेप ग्वार्डिओला म्यानचेस्टर सिटी पुगेका हुन्। एन्टोनियो कोन्टे पनि चेल्सीमा आएर पहिलो सिजनमै लिग उपाधि जित्न सफल भएका थिए। त्यसभन्दा अघि १९९५–९६ सिजनअघि सात र २०१२–१३ अघि ६ क्लबले प्रशिक्षक परिवर्तन गरेका थिए।

नयाँ पुस्ताको नेतृत्व

डिसेम्बर २०१९ मा आर्सनलको जिम्मेवारी सम्हालेका मिकेल आर्टेटा नै अहिले प्रिमियर लिगका सबैभन्दा पुराना प्रशिक्षक हुन्। जबकि उनले सात वर्ष पनि पूरा गरेका छैनन्।

युरोपका पाँच प्रमुख लिगमध्ये उनीभन्दा लामो समय एउटै क्लबमा रहेका प्रशिक्षक एट्लेटिको म्याड्रिडका डिएगो सिमेओने मात्रै हुन्। उनले सन् २०११ डिसेम्बरदेखि क्लब सम्हाल्दै आएका छन्। प्रिमियर लिगमै हेर्दा एस्टन भिल्लाका उनाइ एमरी र लिड्स युनाइटेडका ड्यानियल फार्के तीन सिजनभन्दा बढी समयदेखि क्लबमा छन्।

जुलाई २०२४ मा नियुक्त सन्डरल्यान्डका रेजिस ले ब्रिस अहिले चौथो सबैभन्दा लामो समयदेखि क्लब सम्हालिरहेका प्रशिक्षक बनेका छन्। म्यानचेस्टर युनाइटेडका माइकल क्यारिक यसको अर्को उदाहरण हुन्। जनवरीमा अन्तरिम प्रशिक्षक बनेका उनी मे महिनामा स्थायी भए तर अहिले पनि उनीभन्दा लामो समयदेखि पदमा रहेका प्रशिक्षकको संख्या १० मात्र छ।

सर एलेक्स फर्गुसनले २०१३ मा युनाइटेड छाडेपछि क्यारिक क्लबका सातौं स्थायी प्रशिक्षक हुन्। मार्चमा नियुक्त टोटेनहमका रोबर्टो डे जेब्री पनि धेरै अनुभवी होइनन्। हरेक नयाँ सिजनमा चर्चा हुने अर्को विषय हो ’न्यु म्यानेजर बाउन्स’। यसको अर्थ नयाँ प्रशिक्षक आएपछि टोलीमा केही समयका लागि सकारात्मक प्रभाव देखिनु हो। नयाँ ऊर्जा, नयाँ रणनीति र मानसिक रूपमा ताजापनका कारण टोलीले छोटो अवधिमा राम्रो प्रदर्शन गर्ने विश्वास गरिन्छ। यसपटक भने यो अवधारणाको सबैभन्दा ठूलो परीक्षा हुन सक्छ।

पहिलो सातामै फुलहम र चेल्सी, सिटी र बर्नमाउथ तथा न्युक्यासल र लिभरपुल बिचका खेल हुनेछन्। जहाँ दुवै टोली नयाँ प्रशिक्षकको रणनीतिमा खेल हुनेछन्। लिभरपुलको सुरुआती तालिका निकै रोचक छ। इराओलाको पहिलो ६ वटै प्रिमियर लिग खेल नयाँ स्थायी प्रशिक्षक भएका टोलीविरुद्ध हुनेछ। न्युक्यासलपछि फरेस्ट, इप्सविच, फुलहम, बर्नमाउथ र सिटीसँग उसले खेल्नेछ।

प्रिमियर लिगको नयाँ युग

सन् १९८५–८६ यता पहिलोपटक शीर्ष डिभिजन महान् प्रशिक्षक सर एलेक्स फर्गुसन, आर्सेन वेङ्गर, जोजे मोरिन्हो, योर्गान क्लोप वा पेप ग्वार्डिओलामध्ये कोही पनि नरहेको अवस्थामा सुरु हुँदै छ।

यी पाँच प्रशिक्षकले संयुक्त रूपमा ३४ मध्ये २६ प्रिमियर लिग उपाधि जितेका छन्। उनीहरूले उपाधि जितेनन्, इङ्लिस फुटबलकै विभिन्न युगलाई परिभाषित गरे। फर्गुसनले  युनाइटेडलाई सफलताको नयाँ उचाइमा पुर्‍याए। वेङ्गरले आर्सनलमा आधुनिक प्रशिक्षण, खेलविज्ञान र पोषणको संस्कृतिलाई स्थापित गरे। मोरिन्होले रणनीतिक अनुशासन र मनोवैज्ञानिक खेललाई नयाँ स्तरमा पुर्‍याए। क्लोपको उच्च तीव्रताको प्रेसिङ शैलीले लिभरपुललाई पुनर्जीवित गर्‍यो। ग्वार्डिओलाको पोजिसनल फुटबलले सिटीलाई इङ्लिस फुटबल इतिहासकै सर्वाधिक प्रभावशाली टोलीमध्ये एक बनायो।  फर्गुसन, मोरिन्हो र ग्वार्डिओला लगातार दुई सिजन प्रिमियर लिग जित्न सफल प्रशिक्षक हुन्।

गत सिजन आर्सनललाई उपाधि दिलाएका आर्टेटासँग अहिले त्यो उपलब्धि दोहोर्‍याउने अवसर छ। युनाइटेडका क्यारिकले पहिलो पूर्ण सिजन सुरु गर्दै छन्। उनका परम्परागत प्रतिद्वन्द्वी सबै क्लब नयाँ प्रशिक्षकसहित मैदानमा उत्रँदै छन्। आगामी समयले प्रिमियर लिगको अर्को युगलाई कसले नेतृत्व गर्नेछ भन्ने निर्धारण गर्नेछ तर तीन दशकभन्दा बढी समय इङ्लिस फुटबलमा प्रभाव जमाएका प्रशिक्षकहरू बाहिरिएसँगै २०२६–२७ सिजनले नयाँ अध्यायको सुरुआत भने निश्चित छ।

प्रिमियर लिगका झन्डै आधा क्लब नयाँ नेतृत्वसहित नयाँ सिजनमा प्रवेश गरिरहेका छन्। त्यसैले २०२६–२७ को प्रिमियर लिग पछिल्ला धेरै वर्षयताकै सबैभन्दा अनिश्चित र रोमाञ्चक सिजनमध्ये एक बन्ने अपेक्षा गरिएको छ।  

प्रकाशित: २० श्रावण २०८३ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App