अर्जेन्टिना र इंग्ल्याण्ड २४ वर्षपछि फुटबल विश्वकपमा आमनेसामने हुँदैछन्। दोस्रो सेमिफाइनल अन्तर्गत बिहीबार राति एटलान्टा स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।
विश्वकपमा उनीहरूको अन्तिम भेट २००२ मा भएको थियो। उक्त खेल इंग्ल्याण्डले १–० ले जितेको थियो।
यस खेलमा सबैको नजर लियोनेल मेस्सी र ह्यारी केनमाथि हुनेछ। मेस्सी यस विश्वकपमा आठ गोलसहित गोल्डेन बुट दौडमा अग्रस्थानमा छन्। इंग्ल्याण्डका कप्तान ह्यारी केनले अहिलेसम्म छ गोल गरिसकेका छन्।
दुई टोलीले अहिलेसम्म १४ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यी खेलहरूमध्ये इंग्ल्याण्डले छ वटा जितेको छ भने अर्जेन्टिनाले तीन खेल जितेको छ। उनीहरुबिच पाँच खेल बराबरी भएका छन्।
विश्वकप इतिहासमा दुई टोलीबीच यो छैटौं भेट हुनेछ। अघिल्ला पाँच खेलमा इंग्ल्याण्डले तीन वटा जितेको छ भने अर्जेन्टिनाले दुई वटा जितेको छ।
अर्जेन्टिनाले यस प्रतियोगितामा सबै छ खेल जितेको छ। समूह चरणमा टोलीले अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गरेको थियो।
त्यसपछि उनीहरूले राउन्ड अफ ३२ मा काबो भर्डेलाई ३–२ ले पराजित गरेका थिए। त्यसपछि उनीहरूले राउन्ड अफ १६ मा इजिप्टलाई ३–२ ले र क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई ३–१ ले पराजित गरेका थिए।
यो खेल जितेमा अर्जेन्टिना सातौं पटक फाइनलमा पुग्नेछ। यसअघि उनीहरूले १९७८, १९८६ र २०२२ मा उपाधि जितेका थिए। १९३०, १९९० र २०१४ मा उपविजेता बनेका थिए।
उता, इंग्ल्याण्डले पनि जारी विश्वकपमा पाँच खेल जितेको छ भने एउटा बराबरी खेलेको छ। समूह चरणमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ र पानामालाई २–० ले पराजित गर्यो। घाना विरुद्धको खेल ०–० को बराबरीमा सकियो भने टोलीले राउन्ड अफ ३२ मा कंगो डीआरलाई २–१ ले र राउन्ड अफ १६ मा मेक्सिकोलाई ३–२ ले पराजित गर्योब। त्यसपछि उनीहरूले क्वाटरफाइनलमा एर्लिङ हालान्डको नर्वेलाई २–१ ले पराजित गरे।
यदि इंग्ल्याण्डले यो खेल जित्यो भने उनीहरूले ६० वर्षपछि विश्वकप फाइनल खेल्नेछन्। टोली अन्तिम पटक १९६६ मा फाइनलमा पुगेको थियो, जुन उनीहरूको एक मात्र विश्वकप जित थियो।
प्रकाशित: ३१ असार २०८३ १२:१८ बुधबार





